धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

काठमाडौँ : धुलिखेल अस्पताल परिसरमा स्थापना भएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा आएको छ। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको विस्तार र गुणस्तर बढाउन नबिल बैंक लिमिटेडको सहयोगमा उक्त वार्ड स्थापना गरेको हो।

मंगलबार नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा राम कण्ठ माकजुले संयुक्त रूपमा नबिल बर्न केयर वार्डको उद्घाटन गरे। 

सो वार्ड नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत बनेको हो। यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालन गरिएका निःशुल्क जलन शल्यक्रिया शिविरमार्फत नबिल केयरले गर्दै आएको सहयोगलाई थप विस्तार गरेको बैंकले जानकारी दिएको छ।

उद्घाटनमा नबिल बैंकका सञ्चालक समितिको अध्यक्ष चौधरीले समाजका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले अर्थपूर्ण संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रतिको दायित्व निर्वाह गर्न बैंक प्रतिबद्ध रहेको बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले जलन सम्बन्धी विशिष्टीकृत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहकार्य आवश्यक रहेको बताए।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. राम कण्ठ माकाजु श्रेष्ठले नबिल बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले नेपालमा विशिष्टीकृत जलन उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।

 

मंसिर ८, २०८३ मंगलबार २०:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।