एनपीएल बाहेकका अन्तर्राष्ट्रिय खेलको २ वर्षे टिकटिङ अधिकार बेच्दै क्यान, न्यूनतम ग्यारेन्टी ८० लाख
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेकका अन्य प्रतियोगिता तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूको दुई वर्षे विशेष टिकटिङ अधिकार बिक्रीका लागि राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ।
क्यानले मंगलबार बोलपत्र दस्तावेज जारी गर्दै आगामी दुई वर्षसम्म नेपालमा आयोजना हुने टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूको अनलाइन तथा भौतिक टिकट बिक्रीका लागि सिलबन्दी प्रस्ताव मागेको हो।
बोलपत्र नं. ‘क्यान/बिड/०७/०८३-०८४’ अनुसार इच्छुक र योग्य कम्पनीहरूले आगामी ३० नोभेम्बर २०२६ सम्ममा फिर्ता नहुने १० हजार रुपैयाँ शुल्क तिरेर क्यानको मूलपानी कार्यालयबाट वा वेबसाइटमार्फत बोलपत्र कागजात लिन सक्नेछन्।
बोलपत्र दस्तावेजअनुसार आवेदकले १ डिसेम्बर २०२६ दिउँसो १२ बजेभित्र मूलपानीस्थित क्यानको कार्यालयमा हातैले वा कुरियरमार्फत मात्र सिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ। अनलाइनमार्फत प्रस्ताव बुझाउने वा प्रि-बिड बैठक राख्ने व्यवस्था गरिएको छैन। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १ बजे खोलिनेछ।
प्रस्तावित बोलपत्र ९० दिनसम्म मान्य हुनुपर्नेछ भने बोलपत्रसाथ न्यूनतम रु. १४ लाख को बिड सेक्युरिटी पेस गर्नुपर्नेछ। ठेक्का प्राप्त गर्ने सफल कम्पनीले सम्झौताका क्रममा २५ लाख रुपैयाँको कार्यसम्पादन जमानत बैंक ग्यारेन्टीका रूपमा राख्नुपर्नेछ र बहुवर्षीय सम्झौता भएकाले हरेक वर्ष त्यसलाई नवीकरण गर्नुपर्नेछ।
न्यूनतम ग्यारेन्टी ८० लाख, १० करोडको व्यापार अनुमानका आधारमा विजेता छनोट
क्यानले यस टेन्डरमा न्यूनतम ग्यारेन्टी रकम र राजस्व बाँडफाँट दुवैलाई जोडेर मूल्याङ्कन गर्ने मोडेल अपनाएको छ।
बोलपत्रदाताले कम्तीमा करकट्टीपछिको खुद रकम ८० लाख रुपैयाँ न्यूनतम ग्यारेन्टीका रूपमा कबोल गर्नुपर्नेछ। टिकट बिक्रीबाट जतिसुकै आम्दानी भए पनि यो रकम क्यानलाई अनिवार्य तिर्नुपर्नेछ।
जसमध्ये ६० प्रतिशत रकम सम्झौता हुँदा नै बुझाउनुपर्नेछ भने बाँकी ४० प्रतिशतका लागि १३ महिना मान्य बैंक ग्यारेन्टी राखी सम्झौताको ६ महिना पूरा भएपछि भुक्तानी गर्नुपर्नेछ।
बोलपत्रदाताले टिकट बिक्रीबाट हुने कुल आम्दानीमा क्यानलाई कति प्रतिशत हिस्सा दिने र आफूले कति प्रतिशत राख्ने भनेर प्रस्ताव गर्नुपर्नेछ। मूल्याङ्कन प्रयोजनका लागि दुई वर्षमा कुल टिकट बिक्री आम्दानी रु. १० करोड हुने अनुमान गरिएको छ।
ग्यारेन्टी रकम र १० करोडको अनुमानित बिक्रीमा क्यानलाई दिने सेयर प्रतिशत जोड्दा जसको कुल मूल्याङ्कन रकम सबैभन्दा बढी आउँछ, उसैले ठेक्का पाउनेछ। अर्थात्, न्यूनतम ग्यारेन्टी मात्र धेरै कबोल गर्नेले भन्दा क्यानलाई उच्च सेयर प्रतिशत प्रस्ताव गर्ने कम्पनीले ठेक्का पाउने सम्भावना बलियो रहनेछ।
प्रतियोगिता १० दिन वा सोभन्दा कम अवधिको भए प्रतियोगिता सकिएको ११ दिनभित्र र १० दिनभन्दा लामो भए प्रत्येक ५-५ दिनको हिसाब गरी ७ दिनभित्र क्यानको हिस्सा बुझाउनुपर्नेछ। भुक्तानीमा ढिलाइ भएमा ५ प्रतिशत ब्याज लाग्ने सर्त राखिएको छ।
ज्वाइन्ट भेन्चर नपाइने, ११ करोड कारोबार र आफ्नै पेमेन्ट प्लेटफर्म अनिवार्य
क्यानले बोलपत्रदाताका लागि कडा प्राविधिक तथा वित्तीय मापदण्ड तोकेको छ। बोलपत्रमा ज्वाइन्ट भेन्चरलाई अनुमति दिइएको छैन। एकल कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्।
बोलपत्रदातासँग हाल सञ्चालनमा रहेको आफ्नै कार्यात्मक भुक्तानी प्लेटफर्म हुनुपर्नेछ, जुन नेपालका प्रमुख डिजिटल वालेट तथा बैंकिङ च्यानलका साथै भिसा, मास्टरकार्ड, पेपाल वा स्ट्राइपजस्ता अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेसँग जोडिएको हुनुपर्नेछ।
पछिल्लो ७ वर्षभित्र लगातार ५ दिनभन्दा बढी सञ्चालन भएका कम्तीमा ५ वटा सार्वजनिक कार्यक्रममा अनलाइन र भौतिक दुवै टिकटिङ तथा पेमेन्ट प्रोसेसिङ सेवा दिएको अनुभव र प्रमाण पेस गर्नुपर्नेछ।
पछिल्लो तीन वर्षको औसत वार्षिक कारोबार कम्तीमा रु. ११ करोड हुनुपर्नेछ। साथै, कम्पनी दर्ता, प्यान/भ्याट दर्ता र आर्थिक वर्ष २०८२/०८३ को कर चुक्ता वा कर विवरण बुझाएको प्रमाण अनिवार्य गरिएको छ।
वार्षिक करिब २५ खेल, टिकट दर र अन्य दायित्व
दस्तावेजमा उल्लेखित प्राविधिक विवरणअनुसार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा क्यानले तोकेका देशभरका अन्य रंगशालामा वार्षिक करिब २५ वटा टी-२० तथा एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू हुने अनुमान छ।
क्यानले हिसाबको नमुनाका लागि साधारण प्यारापिट (अनुमानित ६ हजार सिट) को टिकट दर रु. २०० देखि ५०० र प्रिमियम (अनुमानित २ हजार सिट) को दर रु. १,००० देखि २,००० उल्लेख गरेको छ। यद्यपि, प्रत्येक प्रतियोगिताको अन्तिम टिकट मूल्य क्यान स्वयंले निर्धारण गर्नेछ।
अधिकार प्राप्त गर्ने कम्पनीले मैदानमा भौतिक टिकट काउन्टरका लागि आवश्यक जनशक्ति, स्क्यानर, प्रिन्टर, सम्पूर्ण टिकट, पास तथा भिनिल/प्लास्टिक हस्पिटालिटी रिस्ट ब्यान्डको छपाइ खर्च आफैँ व्यहोर्नुपर्नेछ।
खेलको डिजिटल तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र मार्केटिङको सम्पूर्ण खर्च पनि सम्बन्धित कम्पनीकै जिम्मामा रहनेछ।
त्यस्तै, वित्तीय पारदर्शिताका लागि कम्पनीले क्यानलाई रियल-टाइम ट्रान्जेक्सन अनुगमन गर्न मिल्ने ड्यासबोर्ड/ब्याकएन्ड एक्सेस दिनुपर्नेछ र प्रत्येक खेल सकिएको २ घण्टाभित्र अनलाइन तथा काउन्टर बिक्री, कर र सेवा शुल्कसहितको विस्तृत राजस्व प्रतिवेदन बुझाउनुपर्ने प्रावधान बोलपत्रमा समेटिएको छ।
टिकट बिक्रीसम्बन्धी डाटाको स्वामित्व सम्झौता अवधिभर मात्र कम्पनीसँग रहनेछ।
मंसिर ८, २०८३ मंगलबार ११:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।