‘मधेशसँग देखाउनलाई हिमाल र हाइड्रो छैन, भएकै खेती पनि अल्झाउने?’

‘मधेशसँग देखाउनलाई हिमाल र हाइड्रो छैन, भएकै खेती पनि अल्झाउने?’

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रकरणसम्बन्धी सम्पूर्ण कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएका हुन्।

आयोजनाको बाँध, विद्युत् गृह तथा सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी ६ मध्ये तीन कम्पनी प्राविधिक मूल्याङ्कनमा योग्य ठहरिएका थिए।

तर, ती कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला अन्तिम समयमा प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण ढंगले ठेक्का रद्द गरिएको भन्दै लेखा समितिमा उजुरी परेको थियो। सोही उजुरीमाथि समितिले मंगलबार छलफल थालेको हो। सभापति खड्काले कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने बताए।

आयोजना रोकिए मधेश आन्दोलित हुन्छ : सांसद झा
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोशी-मरिण डाइभर्सन आयोजना रोकिए वा रद्द भए मधेश आन्दोलित हुने चेतावनी दिए। “रद्द भयो भने त यो मधेश आन्दोलित हुनेबाहेक अर्को कुनै उपाय नै हुँदैन”, उनले भने।

करिब ६ वर्षअघि सुरु भएको यो आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

२०८१ वैशाख २६ गते आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भए पनि त्यसपछि दुई वर्ष बित्दासमेत काम अघि नबढेको भन्दै झाले आक्रोश व्यक्त गरे। उनले काम नबढ्नुको कारण, बन्द हुने स्थिति र आगामी बाटो (वे फरवार्ड) बारे स्पष्ट कार्ययोजना तथा समयसीमा सार्वजनिक गर्न माग गरे।

मधेशमा कृषि नै मुख्य आर्थिक आधार रहेको र आयोजनाले बढ्दो मरुभूमीकरण रोक्ने अपेक्षा रहेको उल्लेख गर्दै झाले भने, “मधेशसँग देखाउनलाई हिमाल छैन, उत्पादन गर्न हाइड्रो पनि छैन। भएकै एउटा खेती छ, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ।”

आयोजना अघि बढाउने स्पष्ट योजना आए सांसदहरूले संसद् र अन्य निकायबाट समेत दबाब दिन सक्ने उनको भनाइ थियो।

विभागको बचाउ- ‘संशोधित नियमावलीअनुसारै ठेक्का रद्द गर्यौँ’
समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय पूर्णतः कानुनसम्मत रहेको दाबी गरे।

सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचना निर्माणमा ‘एभरेज प्राइसिङ’ को सट्टा ‘रेटेड प्वाइन्ट क्राइटेरिया’ अवलम्बन गर्नुपर्ने व्यवस्था रहेकाले बोलपत्र रद्द गरिएको उनको स्पष्टीकरण छ।

रजौरियाले उक्त विधिबाट प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनको समग्र मूल्याङ्कन भई सक्षम निर्माण व्यवसायी छनोट गर्न सकिने तथा भविष्यमा आउन सक्ने कानुनी विवादसमेत न्यूनीकरण हुने तर्क गरे।

बोलपत्र रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्ष विशेषको हितमा नभई कानुनी पालना, पारदर्शिता, निर्माण गुणस्तर र सार्वजनिक हितलाई केन्द्रमा राखेर गरिएको जिकिर गर्दै उनले भने, “तत्कालीन प्रक्रियागत सुविधाभन्दा प्रचलित कानुनको पालना, सार्वजनिक स्रोतको अधिकतम सदुपयोग र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनु जिम्मेवार प्रशासनिक पदाधिकारीको कर्तव्य हो।”

उनले समितिले बोलाएको खण्डमा आवश्यक कागजात र प्रमाणसहित पुनः उपस्थित हुने प्रतिबद्धतासमेत जनाए।

मंसिर ८, २०८३ मंगलबार १२:१८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।