मिदास हेल्थ सर्भिसेद्वारा नेपालकै पहिलो माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक
काठमाडौं : मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो।
कम्पनीका अनुसार यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बनाउँछ।
२५ वर्षभन्दा बढीको अनुभवसहित मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिकसमेत गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको जनाए छ। पछिल्लो स्तरोन्नतिले अस्पतालको सूचना प्रणालीलाई थप लचिलो, विस्तारयोग्य र भरपर्दो बनाउँदै बदलिँदो आवश्यकता तथा सेवाग्राहीको चापअनुसार छिटो अनुकूलन गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
मोनोलिथिक संरचनामा अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला प्रतिवेदनलगायत सबै सेवा एउटै ठूलो सफ्टवेयर संरचनाभित्र सञ्चालन हुने जनाएको छ। माइक्रोसर्भिसेस आर्किटेक्चरमा बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा स्वतन्त्र सञ्चालन हुने र कुनै एउटा मोड्युलमा सुधार वा अद्यावधिक गर्दा अन्य विभागको कामकाजमा असर नपर्ने गरी परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ।
मिदासले विद्यमान ग्राहक संस्थाहरूको एचएमआइएस स्तरोन्नति गर्नुका साथै नयाँ साझेदार संस्थाहरूमा पनि माइक्रोसर्भिसेसमा आधारित प्लेटफर्म सफलतापूर्वक कार्यान्वयन गरिसकेको जनाएको छ।
विद्यमान एचएमआइएस प्रणालीलाई माइक्रोसर्भिसेस आर्किटेक्चरमा स्तरोन्नति गरी नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, काठमाडौं मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, हस्पिटल फर चिल्ड्रेन, आई, ईएनटी एन्ड रिह्याबिलिटेसन सर्भिसेज, भीम हस्पिटल र मणिपाल मेडिकल कलेजलगायतका प्रमुख स्वास्थ्य संस्थाहरूमा सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ।
यसका अतिरिक्त, नयाँ माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस चरक मेमोरियल हस्पिटल प्रा. लि., फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल प्रा. लि., भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटल, रिदम न्युरोसाइकियाट्री हस्पिटल एन्ड रिसर्च सेन्टर, डीआई डेन्टल हस्पिटल तथा शियर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलमा समेत सञ्चालनमा ल्याइसकिएको छ।
मिदास हाल किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल तथा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरलगायतका अन्य प्रतिष्ठित स्वास्थ्य संस्थाहरूको प्रणाली स्तरोन्नति गर्ने प्रक्रियामा रहेको छ। साथै, मोनोलिथिक आर्किटेक्चरमा सञ्चालन भइरहेका आफ्ना बाँकी ग्राहक संस्थाहरूसँग सहकार्य गर्दै उनीहरूको प्रणालीलाई पनि यस उन्नत प्रविधिमा रूपान्तरण गर्ने कार्य अघि बढाइरहेको कम्पनीले जनाएको छ।
"मिदासमा हामी केवल सफ्टवेयर उपलब्ध गराउँदैनौँ; हामी दीर्घकालीन साझेदारी निर्माण गर्छौँ। नेपालमा माइक्रोसर्भिसेस आर्किटेक्चर भित्र्याएर स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई उनीहरूको आवश्यकतासँगै विकसित हुँदै जाने प्रणाली प्रदान गरिरहेका छौँ। अस्पतालहरूले बिरामीको उपचार सेवा तथा अस्पताल प्रशासनलाई अझ प्रभावकारी बनाउन भरपर्दो, कार्यकुशल र नवीन उपकरण प्राप्त गरून् भन्नेमा कम्पनी प्रतिबद्ध छ" मिदासको प्रमुख कार्यकारी अधिकृत अङ्कित भण्डारीले बताए।
मंसिर ८, २०८३ मंगलबार १७:३३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।