नेपालमै जन्मिएर अनागरिक, तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

नेपालमै जन्मिएर अनागरिक, तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

काठमाडौं : पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन्। जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो। तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको गम्भीर प्रश्न खडा भयो।

नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन; छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छिन्।

“हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ”, उनी भन्छिन्।

पम्फाका अनुसार माइती गाउँमा घुम्दै आएका एक युवकसँग उनको विवाह भएको थियो। १० सन्तानमध्ये जेठी पम्फाको परिवार गरिबीको चपेटामा थियो। लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उनको विवाह गरिदिएका थिए।

“केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भनिन्, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको दाम्पत्य जीवन बित्यो।

विसं २०२५ मा जन्मिएकी पम्फा रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौँ आएकी थिइन्। उनका श्रीमान् बितेको दुई दशकभन्दा बढी भइसक्यो। नागरिकता नहुँदा उनले छोराछोरीको जन्मदर्ता र नागरिकतासमेत बनाउन सकिनन्। अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट वञ्चित छन्।

“आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही देश हो। मेरो नागरिकता किन बन्दैन? बुझ्नै सकिनँ”, उनी भावुक हुँदै भन्छिन्।

आफूले भोगेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भनेर उनी छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहेकी छन्।

“दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै। बैङ्क खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ”, उनले भनिन्।

नागरिकता नभएकै कारण ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले त्यो काम पनि गुमाउनुपरेको र परिवार राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट वञ्चित हुनुपरेको उनको दुखेसो छ।

उनले माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि गरिन्। तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उनी निराश भएर काठमाडौँ फर्किइन्।

“श्रीमान् बितेपछि नागरिकता बनाउन माइती गएँ, तर श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए। श्रीमान्को थातथलो थाहा छैन, अब कहाँ जाऊँ?” उनले प्रश्न गरिन्।

हाम्रो नागरिकता कहिले बन्छ?
सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन छन्। आफन्तको पहिचान नखुलेकाले उनले नागरिकता बनाउन सकेका छैनन्। जसोतसो तेक्वान्दो खेलाडी बनेका उनले विद्यालयमा प्रशिक्षण दिने काम पाए पनि नागरिकता नहुँदा पारिश्रमिक लिन समस्या झेलिरहेका छन्।

सञ्जयले सञ्चालन गर्दै आएको टिकटक खाता अरूकै नाममा छ। उक्त खातामा आएको पाँच लाख रुपैयाँसमेत अरूले नै राखेको उनको गुनासो छ।

मोबाइलको सिमकार्डसमेत अरूकै नाममा लिन बाध्य भएको बताउँदै उनले प्रश्न गरे, “नागरिकता नहुँदा बैङ्क खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ?” ‘साथसाथ’ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग उनले प्रश्न राखे, “सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ?”

सञ्जयजस्तै नागरिकताविहीन छिन्, अञ्जु गुरु। पशुपति क्षेत्रको सडकमा बाल्यकाल बिताएकी र किशोरावस्थामै विवाह गरेकी अञ्जुका श्रीमान् पनि सडक मानव हुन्। श्रीमान्-श्रीमती दुवैसँग नागरिकता छैन।

“नागरिकता भए रोजगारी पाउने थिएँ, भविष्य उज्ज्वल हुन्थ्यो। अहिले अँध्यारोमा बाँचिरहेका छौँ। न पहिचान छ, न सम्मान नै”, अञ्जुले भनिन्।

‘साथसाथ’ संस्थाले हालै १५० जना सडक बालबालिकामा गरेको सर्वेक्षणअनुसार ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी नै छैन। अधिकांशले जन्मदर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ।

सर्वेक्षणमा अभिभावकका कागजात नभएका ६५ प्रतिशत तथा बाबुको पहिचान नभएका, बेपत्ता भएका र वैवाहिक अवस्थासँग जोडिएका घटना ३५ प्रतिशत रहेको उल्लेख छ। त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी र सरकारी सुविधाको पहुँचबाट वञ्चित छन्।

संस्थाले जन्मदर्ता हुन नसकेका घटनाको वर्गीकरणसमेत गरेको छ। जसअनुसार सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना रहेका छन्।

कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए।

कागजात प्रमाणित नभएको र अभिभावकको पहिचान नखुलेको अवस्थामा नागरिकलाई सहज जीवनयापनका लागि अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ।

यसका लागि समितिमा आवश्यक छलफल गरी नागरिकता वितरण प्रक्रिया सहज बनाउने कार्यविधि तयार गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

“नागरिकताजस्तो नैसर्गिक अधिकार पाउनुपर्छ। कानुन छ, यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ”, सांसद चौलागाईंले भने।

अधिकारकर्मी एवं साथसाथ संस्थाकी स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्तासम्बन्धी कानुनी व्यवस्था भए पनि व्यावहारिक कार्यान्वयन जटिल हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकेको बताइन्।

“कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्”, उनले भनिन्।

सम्पादनसहित प्रकाशित राससको सामग्री

मंसिर ९, २०८३ बुधबार ०८:०५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।