चीन र जापानसहित १६ देशमाथि नयाँ ट्यारिफ लगाउने अमेरिकी तयारी

चीन र जापानसहित १६ देशमाथि नयाँ ट्यारिफ लगाउने अमेरिकी तयारी

एजेन्सी : अमेरिकाले विभिन्न देशबाट हुने आयातमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ।

बीबीसीका अनुसार अमेरिकाको यो कदमबाट उसका प्रमुख व्यापारिक साझेदारहरू प्रभावित हुनेछन्, जसमा चीन, युरोपेली सङ्घ (ईयू), मेक्सिको र जापानसहित कुल १६ देश वा व्यापारिक समूह समावेश छन्।

नयाँ व्यवस्थाअनुसार फरक-फरक देशका लागि आयात शुल्कको दर पनि बेग्लाबेग्लै हुनेछ। कुन देशमाथि कति शुल्क लाग्ने भन्ने कुरा सम्बन्धित देशले यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कस्तो व्यापारिक सम्झौता गरेका थिए भन्नेमा निर्भर रहनेछ।

यो निर्णयले अमेरिका र चीनबिचको व्यापारिक तनाव अझै बढ्ने आशङ्का गरिएको छ। विश्वका यी दुई ठुला अर्थतन्त्र पहिलेदेखि नै व्यापार विवादमा अल्झिरहेका छन्।

आयात शुल्क लगाउनु राष्ट्रपति ट्रम्पको नीतिको प्रमुख हिस्सा रहँदै आएको छ। भन्सार शुल्क बढाउँदा अमेरिकाको घरेलु उत्पादन क्षेत्रलाई प्रोत्साहन मिल्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको तर्क छ।

यसअघि सन् २०२५ को अप्रिलमा पनि ट्रम्पले विश्वका थुप्रै व्यापारिक साझेदारमाथि ठुलो मात्रामा ट्यारिफ लगाउने घोषणा गरेका थिए। उनको उक्त निर्णयले विश्वभर हलचल मच्चाएको थियो। यद्यपि, पछि ती शुल्कहरू रद्द गरिएका थिए।

त्यसबेला अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले विदेशमा आवश्यकताभन्दा बढी उत्पादन भइरहेका कारण अमेरिकी उत्पादन क्षेत्र प्रभावित भएको र लगानीसमेत बढ्न नसकेको जिकिर गरेका थिए।

मंसिर ९, २०८३ बुधबार ०७:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।