बिचौलियाको काम गरेको आरोपमा बुटवल यातायात कार्यालय परिसरबाट सात जना पक्राउ
रुपन्देही : बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गरेर बिचौलियाको काम गरेको आरोपमा सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बिचौलियाको काम गरिरहेको अवस्थामा भेटिएपछि सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए।
नियन्त्रणमा लिएकाहरूमा गुल्मीको मालिका गाउँपालिका-५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका-१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन्।
त्यसैगरी बुटवल उपमहानगरपालिका-२ का ५४ वर्षीय केशिराम खनाल, शुद्धोधन गाउँपालिका-८ का ३१ वर्षीय विजय क्षेत्री तथा पाल्पाको बगनासकाली गाउँपालिका-१ का ५३ वर्षीय प्रमोदराज श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यातायात कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको चन्दले बताए। नियन्त्रणमा लिइएका सातै जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
मंसिर ८, २०८३ मंगलबार २२:०५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।