ट्रम्पको दबाबपछि ११ दिनमै एनभिडियाको सीईओमा हुवाङको पुनरागमन

ट्रम्पको दबाबपछि ११ दिनमै एनभिडियाको सीईओमा हुवाङको पुनरागमन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसको प्रत्यक्ष दबाबपछि विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाले आफ्ना पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुवाङलाई पुनर्वहाली गरेको छ।

व्यक्तिगत र सुरक्षासम्बन्धी विवादमा मुछिएर दबाबका कारण राजीनामा दिएको ठीक ११ दिनपछि सोमबार हुवाङलाई पुनः कम्पनीको शीर्ष नेतृत्वमा फर्काइएको हो।

सीएनएनका अनुसार हुवाङको बहिर्गमनपछि अमेरिकी सेयर बजार लगातार ओरालो लागेपछि राष्ट्रपति ट्रम्पले बजार जोगाउन उनलाई जसरी पनि फर्काउने अभियान नै चलाएका थिए।

किन दिए ट्रम्पले दबाब ?
हुवाङले कम्पनी छाडेपछि एनभिडियाको सेयर मूल्यमा भारी गिरावट आएको थियो। त्यसको असर समग्र अमेरिकी सेयर बजारमा पर्दै लगातार पाँच दिनसम्म बजार घट्यो।

एआई क्षेत्रको उत्साह सेलाएर सन् १९२९ को जस्तो ठुलो आर्थिक मन्दी आउन सक्ने चिन्ता ट्रम्पमा बढेको थियो।

सुरुमा ट्रम्पले बजारको विश्वास फर्काउन एप्पलका पूर्वसीईओ टिम कुकलाई एनभिडियाको नेतृत्व दिन सकिने चर्चा चलाएका थिए।

तर कम्पनीले आफ्नै प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई सीईओ बनायो। क्रेसको कार्यशैली र टेलिभिजन अन्तर्वार्ताबाट ट्रम्प सन्तुष्ट थिएनन्।

यसैबीच एसिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङले समेत हुवाङको प्रशंसा गरेको देखेपछि ट्रम्पले हुवाङलाई नै फर्काउनुपर्ने निष्कर्ष निकालेका थिए।

७२ घण्टाको गोप्य कसरत
ट्रम्पको निर्देशनमा उपराष्ट्रपति जेडी भ्यान्सको नेतृत्वमा वाणिज्यमन्त्री हावर्ड लुटनिक र अर्थमन्त्री स्कट बेसेन्टले ७२ घण्टा एनभिडियाको सञ्चालक समितिसँग लगातार संवाद र दबाब दिए। राष्ट्रपति ट्रम्प स्वयंले पनि कम्पनीको बोर्डलाई फोन गरेर हुवाङको पक्षमा वकालत गरे।

सरकारी अधिकारीहरूले हुवाङबाट राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र चीनसँगको एआई प्रतिस्पर्धामा अमेरिकाको अग्रता कायम राख्न उनी अपरिहार्य रहेको आश्वासन दिए।

रोचक त के छ भने, एनभिडियाको बोर्डले चार दिनअघि मात्र हुवाङको आचरण कम्पनीको नियमविपरीत रहेको भन्दै उनलाई नफर्काउने बताएको थियो।

तर ह्वाइट हाउसको चर्को दबाबपछि आइतबार राति बोर्डले निर्णय उल्ट्यायो र सोमबार बिहानै सरकारी उच्च तहको सुझावका आधारमा हुवाङलाई पुनर्वहाली गरिएको घोषणा गर्यो।

यो निर्णयपछि सिलिकन भ्याली र ट्रम्प निकटस्थहरूमा खुसी छाएको छ। ट्रम्पले यस विषयमा सल्लाह लिएका अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मा “गल्ती सच्याइएको छ” भन्दै स्वागत गरेका छन्।

सोमबार सीएनबीसीसँग कुरा गर्दै ट्रम्पले एनभिडियाको सेयर र बजार अब रकेटजस्तै सही दिशामा उडिरहेको दाबी गरे।

के थियो हुवाङमाथिको विवाद?
हुवाङले विवाहेतर सम्बन्ध राखेको स्वीकारेपछि यो प्रकरण चर्किएको थियो। उनी ‘मेगास्पिड’ नामक कम्पनीकी एक कार्यकारी अधिकारी एलिस हुवाङसँगको सम्बन्धमा थिए।

उक्त कम्पनीले एनभिडियाका उन्नत एआई चिप खरिद गर्ने गर्थ्यो र ती चिप अवैध रूपमा चीन पुगेको हुनसक्ने अमेरिकी अधिकारीहरूको आशंका छ।

अमेरिकी गुप्तचर निकायहरूले ती महिलाको चिनियाँ गुप्तचरी संयन्त्रसँग सम्बन्ध हुनसक्ने र त्यसबाट राष्ट्रिय सुरक्षामा जोखिम पुग्ने चेतावनी दिएका थिए।

यसैबीच, अमेरिकी वाणिज्य मन्त्रालयले एलिस हुवाङ आबद्ध कम्पनी ‘मेगास्पिड’ लाई अमेरिकी निर्यात प्रतिबन्ध लाग्ने कालोसूची (एन्टिटी लिस्ट) मा राख्ने तयारी गरेको छ।

विरोध र आगामी चुनौती
ट्रम्पले बजार जोगिएकोमा खुसी मनाए पनि उनको यो कदमको तीव्र आलोचनासमेत भइरहेको छ।

रिपब्लिकन पार्टीकै सांसद पिट रिकेट्सले हुवाङको आचरण पुनर्वहालीका लागि योग्य नरहेको टिप्पणी गरेका छन्। त्यस्तै, विदेशमन्त्री मार्को रुबियोले पनि यसअघि नै हुवाङको सम्बन्धबारे ट्रम्पलाई बारम्बार सचेत गराएका थिए।

आगामी जनवरीदेखि अमेरिकी संसद्मा डेमोक्रेटिक पार्टीको बहुमत कायम हुने भएकाले हुवाङको पुनर्वहाली र ह्वाइट हाउसको हस्तक्षेपमाथि कडा छानबिन हुने देखिएको छ। हुवाङ स्वयंले पनि आगामी बिहीबार सिनेटको बैंकिङ समितिमा उपस्थित भएर सार्वजनिक रूपमा जवाफ दिनुपर्नेछ।

मंसिर ८, २०८३ मंगलबार ०७:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।