नेपालमा आइआइटीको अफसोर कलेज : नेपाली पनि बन्लान् त ‘पिचाई’ र ‘मूर्ति’हरू?

काठमाडौं : गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाई, आईबीएमका सीईओ अरविन्द कृष्ण, इन्फोसिसका संस्थापक नारायण मूर्ति, सन माइक्रोसिस्टम्सका सह-संस्थापक विनोद खोस्ला, फ्लिपकार्टका सह-संस्थापक सचिन र बिन्नी बन्सल-  विश्व प्रविधि र कर्पोरेट जगतका यी चर्चित नामको एउटा साझा पहिचान छ इन्डियन इन्स्टिच्युट्स अफ टेक्नोलोजी (आइआइटी)।

प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा नेपालमा आइआइटीको अफसोर क्याम्पस खोल्ने घोषणा भएपछि अब नेपालमै पनि यस्तै विश्वस्तरीय प्राविधिक जनशक्ति र उद्यमी तयार हुन्छन् त भन्ने चासो बढाएको छ। 

कूटनीतिक र रणनीतिक दृष्टिले यो सहमतिलाई सामान्य शैक्षिक समझदारी मात्र देखिँदैन। रेल सञ्जाल, कृषि-औद्योगिक पार्क, प्रविधि हब र आर्थिक प्याकेजसँगै आएको यो घोषणाले नेपाल-भारत सहकार्य परम्परागत पूर्वाधारबाट ज्ञान, प्रविधि र नवप्रवर्तनतर्फ मोडिन खोजेको संकेत समेत दिन्छ।

नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउने कलेजहरू नभएका हैनन्। यस्ता शैक्षिक संस्थाहरूको संख्या ६० हाराहारी रहेको छ। तर ती अफसोरका रुपमा भन्दा पनि सम्बन्धित देशको विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपाली शक्तिबाटै अध्ययन गराउने गरेका छन्। यसमा शैक्षिक प्रणाली सम्बन्धित विश्वविद्यालयको भए पनि लगानी, भौतिक पूर्वाधार, व्यवस्थापन र शैक्षिक जनशक्ति नेपालकै हुने गरेको छ।

अहिले भएको सहमति अनुसार आइआइटीको अफसोर कलेज खुलेमा पाठ्यक्रमदेखि शैक्षिक मापदण्डसम्म उसकै हुन्छ। व्यवस्थापनदेखि परीक्षा प्रणालीसम्म उसकै अपनाइन्छ। आवश्यक भौतिक संरचनामा लगानीदेखि लिएर प्राध्यापक नियुक्ति र विद्यार्थी भर्नाको मापदण्ड समेत आफैँ तोक्न सक्छ।  

आइआइटीको इतिहास कस्तो छ?

आइआइटी अर्थात् इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीज। भारत सरकारले सञ्चालन गर्ने इन्जिनियरिङ, प्रविधि र विज्ञानका प्रतिष्ठित संस्थाको सञ्जाल हो। दोस्रो विश्वयुद्धपछि भारतलाई औद्योगिक विकासका लागि उच्च प्राविधिक जनशक्ति चाहिएको थियो। त्यसपछि अमेरिकाको एमआईटीबाट प्रेरित भएर यस्ता संस्थान खोल्ने क्रम सुरु भयो।

प्रधानमन्त्री जवाहरलाल नेहरुको पहलमा सन् १९५१ मा पश्चिम बङ्गालको खडगपुरमा पहिलो आइआइटी स्थापना भएको थियो। नेहरुले यसलाई भारतको भविष्यको प्रतीक भनेका थिए।

त्यसपछि मुम्बई, मद्रास, कानपुर र दिल्लीमा आइआइटीहरू खुले। प्रारम्भमा भारतले आफ्नो आर्थिक सामर्थ्यले मात्र होइन, विदेशी सहयोगमै शैक्षिक संस्था खोलेको थियो। मुम्बईमा सोभियत संघ, मद्रासमा पश्चिम जर्मनी, कानपुरमा अमेरिका र दिल्लीमा बेलायतले सहयोग गरेको थियो।

यसको बढ्दो प्रभावसँगै सन् १९६१ मा भारतको संसद्ले इन्स्टिच्युट अफ टेक्नोलोजी ऐन पारित गरेर आइआइटीलाई स्वायत्तता र राष्ट्रिय महत्त्वको संस्थाको मान्यता दियो। यसको प्रभाव गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाई, आईबीएमका सीईओ अरविन्द कृष्ण, इन्फोसिसका संस्थापक नारायण मूर्ति, सन माइक्रोसिस्टम्सका सह-संस्थापक विनोद खोस्ला, फ्लिपकार्टका सह-संस्थापक सचिन र बिन्नी बन्सल जस्ता विश्वविख्यात आईटी लिडरहरूको सफलताले नै देखाउँछ।

अहिले भारतभर यस्ता २३ वटा आइआइटी सञ्चालनमा छन्। भारतले विदेशमा पनि अफसोर क्याम्पसहरू विस्तार गरिरहेको छ।

विद्यार्थी र पुँजी रोकिने आश

उच्च शिक्षाका लागि हरेक वर्ष करिब डेढ लाख नेपाली विद्यार्थी बिदेसिने गरेका छन्। यद्यपि पछिल्ला वर्षमा यो संख्या घटबढ हुँदै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा १ लाख १४ हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए।

यसरी अध्ययनका लागि बाहिरिने नेपालीसँगै हरेक वर्ष करिब डेढ खर्ब रुपैयाँ बराबरको रकम पनि बाहिरिने गरेको छ।

यसरी बाहिरिनेमा कतिपय नयाँ अवसरको खोजीको लक्ष्य हुने गरे पनि केही केवल उच्च शिक्षाका लागि समेत बाहिरिने गरेको देखिन्छ। यसले नेपालबाट पुँजीसँगै दक्ष  जनशक्ति समेत पलायन भइरहेका छन्। यदि नेपालमै आइआइटीको अफसोर क्याम्पस खुल्यो भने नेपालमै प्रतिष्ठित प्राविधिक शिक्षा पाउने सम्भावनाले अध्ययनकै लागि बाहिरिने विद्यार्थीको संख्या घट्न सक्छ।

यसमा थप,प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा अफसोर क्याम्पससँगै प्याकेजमा स्टार्ट-अप इन्क्युबेटर र इनोभेसन हबका विषयमा पनि सहमति भएका छन्। यसले नेपालमा आइआइटीको उपस्थितिले उद्यमशीलतामा नयाँ गति दिने सम्भावना समेत देखाएको छ।

तर, प्रतिभा किताबी ज्ञानमा मात्र सीमित हुँदैन। अनुसन्धान, प्रोटोटाइपिङ र नयाँ प्रविधि निर्माणले सम्भावनाहरूलाई अझ फराकिलो बनाउँछ। कृषि-औद्योगिक पार्कसँग प्रविधि जोडिँदा एग्रो-टेक र फुड प्रोसेसिङमा आधुनिक समाधान निकाल्न सजिलो हुन्छ।

सकारात्मक पक्ष र जोखिम

यसको सबैभन्दा ठुलो फाइदा गुणस्तर र प्रतिस्पर्धामा हुन सक्छ। अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, अद्यावधिक ल्याब र अनुसन्धानमुखी सिकाइले नेपालका अन्य विश्वविद्यालय र कलेजलाई पनि सुधारका लागि दबाब र प्रेरणा दिन सक्छ।

यसले नेपाली सफ्टवेयर क्षेत्रलाई आउटसोर्सिङबाट माथि उठाएर मौलिक उत्पादन र डिप-टेकतर्फ लैजान मद्दत गर्न सक्छ। साथै, भारतमा प्रविधि र कानुनको अध्ययनका लागि छात्रवृत्ति बढे नेपाली विद्यार्थीले सिक्ने र आदानप्रदान गर्ने अवसर फराकिलो हुन सक्छ।

अब चुनौतीबारे कुरा गरौँ।

पहिलो प्रश्न पहुँच र शुल्कको हो। शुल्क महँगो भयो भने क्याम्पस सीमित वर्गको मात्र पहुँचमा रहन सक्छ। दोस्रो चुनौती स्वदेशी विश्वविद्यालयमाथिको चाप हो। नेपालका विश्वविद्यालयले वर्षौँदेखि पूर्वाधार, जनशक्ति र आधुनिकीकरणको अभाव भोगेका छन्। 

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका इन्जिनियरिङ कलेजहरू पहिलादेखि नै छन्; पुल्चोकमा त इन्जिनियरिङकै छुट्टै प्रतिष्ठित क्याम्पस छ। यस्तो अवस्थामा बाह्य संस्था आउँदा स्वदेशी संस्था झन् छायाँमा पर्न सक्छन् र दक्ष प्राध्यापकहरू उतै तानिने जोखिम रहन्छ।

तेस्रो चुनौती पाठ्यक्रम र स्थानीय सान्दर्भिकताको हो। विदेशी मोडेललाई नेपालको सामाजिक, आर्थिक र प्राविधिक आवश्यकताअनुसार ढाल्न सकिएन भने अपेक्षित नतिजा नआउन सक्छ।

जान्जिबार र अबुधाबीको अनुभव

नेपालभन्दा अगाडि भारतले हालै तान्जानियाको जान्जिबार र युएईको अबुधाबीमा यस्तै अफसोर क्याम्पस सुरु गरेको छ। जान्जिबारको क्याम्पस अफ्रिका महादेशमा खुलेको पहिलो आइआइटी क्याम्पस हो, जहाँ डेटा साइन्स र एआईजस्ता विषयमा पढाइ हुन्छ।

अबुधाबीको क्याम्पसले इन्जिनियरिङ, ऊर्जा, दिगो विकास र प्रविधिका कार्यक्रममा जोड दिएको छ।

यसले जेईईजस्तो कडा प्रवेश परीक्षा र विदेश बस्ने उच्च खर्चबिना नै स्थानीय तथा क्षेत्रीय विद्यार्थीले आइआइटीको ब्रान्ड र पाठ्यक्रममा जोडिने अवसर पाएका छन्। डेटा साइन्स र एआईका कोर्सले त्यहाँको श्रम बजारको मागलाई सम्बोधन गर्ने प्रयास गरेका छन्।

नेपालमा आइआइटीको अफसोर क्याम्पस खोल्ने सहमतिले प्राविधिक शिक्षा, नवप्रवर्तन र पुँजी पलायन रोक्ने दिशामा एउटा आशाजनक ढोका खोलेको छ। तर, यसलाई केवल कूटनीतिक घोषणामा सीमित नराखी पारदर्शी शुल्क, स्वदेशी शैक्षिक संस्थासँगको सन्तुलित सहकार्य र स्थानीय आवश्यकता सुहाउँदो पाठ्यक्रममार्फत अघि बढाउन सके मात्र यसको दीर्घकालीन सार्थकता पुष्टि हुनेछ।

मंसिर ८, २०८३ मंगलबार २०:३४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।