भरुवा बन्दुकसहित दुई जना पक्राउ
काठमाडौं : प्रहरीले छुट्टाछुट्टै स्थानबाट भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-७ स्थित काँडाचौरका बहादुर धामी र मकवानपुरको भीमफेदी गाउँपालिका- १ स्थित रातोमाटेका ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङ रहेका छन्।
धामी एक थान एकनाले भरुवा बन्दुकसहित मङ्गलबार बिहान आफ्नै घरबाट पक्राउ परेका हुन्। घर तथा आँगन खानतलासी गर्ने क्रममा घरनजिकै रहेको खरको कुन्यूमा लुकाएर राखिएको अवस्थामा भेटिएको बन्दुकसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
त्यस्तै मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले थिङको घरमा चेकजाँच गर्दा खाटमुनि बोराभित्र लुकाइराखेको चालु अवस्थामा रहेका दुई थान भरुवा बन्दुक फेला पारेको थियो।
भरुवा बन्दुक भेटिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको भरुवा बन्दुकसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मंसिर ८, २०८३ मंगलबार २१:३२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।