प्रश्न दबाउन सरकारले भय सिर्जना गरेको गगनको आरोप, पक्राउ गर्ने भए हतकडी लिएर आउन चुनौती
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई प्रश्न गरेकै भरमा आफूलाई पक्राउको चर्चा चलाएर तर्साउन खोजिएको भन्दै पक्राउ गर्ने भए हतकडी लिएर आउन चुनौती दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले सत्ताको बलमा राज्य संयन्त्रको दुरुपयोग गरेर कांग्रेसलाई झुकाउन नसकिने बताए।
सरकारमाथि प्रश्न उठाएकै कारण आफ्ना विरुद्ध कथा, पटकथा, अडियो र भिडियोहरू योजनाबद्ध रूपमा बाहिर ल्याइएको आरोप लगाउँदै थापाले आफू कुनै पनि दबाब र धम्कीबाट पछि नहट्ने बताए।
“साथीहरूले मलाई सम्झाउँदै ‘सरकार कडा छ, लोकप्रिय छ, शक्तिशाली छ। प्रश्न गर्यो भने तलमाथि हुन सक्छ। तपाईंलाई पक्रेला, समात्ला’ भन्नुहुन्छ,” बैठकमा थापाले भने, “मैले भन्ने गरेको छु- पक्रने साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात चाहिँ नआउनू, हतकडी चाहिँ लिएर आउनू। खाली हात चाहिँ जान्नँ। यत्ति कुरा मात्रै हो।”
विगतमा राज्यले बल प्रयोग गरेर विपक्षीलाई अलमल्याउन खोजेको उल्लेख गर्दै उनले अहिले सामाजिक सञ्जालमार्फत त्रास र आतंकको वातावरण बनाएर प्रश्नहरू दबाउने कोसिस भइरहेको बताए। भय सिर्जना गरेको आधारमा प्रश्न सोध्ने चरित्रलाई कांग्रेसले कहिल्यै नगुमाउने दाबी गरे।
सरकारले प्रश्न गर्नेहरूलाई जति तर्साए पनि कांग्रेसले प्रश्न गर्न नछोड्ने उनको भनाइ थियो। थापाले भने, “न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज (चरित्र गुमाउँछ) गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ।”
पक्राउको हल्ला चलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको भन्ने चर्चाको उनले खण्डन गरे। आफू पार्टी सभापति भएपछि एमाले अध्यक्ष ओलीसँग पाँच पटक भेटवार्ता गरिसकेको र त्यो स्वाभाविक राजनीतिक प्रक्रिया भएको थापाको भनाइ थियो।
“म नेपाली कांग्रेसको सभापति हुँ, नेकपा एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाका सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कसैसँग भेटघाट नगर्ने भएकाले उहाँसँग मात्रै नभएको हो, बाँकी सबैसँग हुन्छ, यो एकदमै स्वाभाविक हो,” थापाले भने।
प्रदेश सरकारहरूमा कांग्रेससँगै रहेको र मधेस प्रदेश सरकारको संकट समाधान तथा मध्यावधि टार्नका लागि प्रचण्ड, उपेन्द्र यादव र केपी ओलीसँग छलफल हुनु स्वाभाविक भएको उनको तर्क छ। राजनीतिक दलहरूबीचको संवादलाई लिएर सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्न खोजिएको भन्दै थापाले चेतावनी दिए, “तपाईंले अलमल्याउन, तर्साउन वा कहीँ न कहीँ दच्काउन सक्छु कि भन्ने सोच्नुभएको छ भने फेरि याद गर्नुहोला- तपाईंले पार्टी गलत छान्नुभयो, व्यक्ति गलत छान्नुभयो।”
मंसिर ८, २०८३ मंगलबार २०:०९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।