एसिया कप राइजिङ स्टार्स : नेपाल र पाकिस्तान ‘ए’ आज भिड्दै, सेमिफाइनल आशा जोगाउन जित्नैपर्ने दबाब
काठमाडौं : एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत मंगलबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने यो डे-नाइट खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न नेपालका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण रहेको छ।
हालसम्म खेलेका दुईमध्ये दुवै खेल जितेको पाकिस्तान ‘ए’ ४ अंक र +१.०९० नेट रनरेटसहित अंकतालिकाको शीर्ष स्थानमा छ। यता दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाल २ अंकसहित तेस्रो स्थानमा छ।
समान २ अंक रहे पनि भारत ‘ए’ उत्कृष्ट नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ भने नेपालको नेट रनरेट -२.४६१ छ।
समूह चरणको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै सानदार पुनरागमन गरेको थियो।
उता पाकिस्तान ‘ए’ ले भने यूएई र भारत ‘ए’ दुवैलाई पराजित गरिसकेको छ। समूहका शीर्ष दुई टोली मात्र सेमिफाइनल प्रवेश गर्ने भएकाले नेपाललाई आज जितसँगै नेट रनरेटमा पनि सुधार गर्नुपर्ने चुनौती छ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको विगतको एक मात्र भेटमा पाकिस्तान हाबी भएको थियो। सन् २०२३ जुलाई १४ मा भएको खेलमा पाकिस्तान ‘ए’ ले नेपाललाई १०३ बल बाँकी छँदै ४ विकेटले पराजित गरेको थियो।
मंसिर ८, २०८३ मंगलबार ०७:५९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।