भीएआरमार्फत एभर्टनका कप्तानलाई रातो कार्ड, तीन खेलको प्रतिबन्ध

भीएआरमार्फत एभर्टनका कप्तानलाई रातो कार्ड, तीन खेलको प्रतिबन्ध

एजेन्सी : इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन ब्रेन्टफोर्डसँग ४-० को फराकिलो अन्तरले पराजित भएको छ।

खेलको ४०औँ मिनेटमै एभर्टनका कप्तान जेम्स टार्कोस्की रातो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली दबाबमा परेको थियो। खेलपछि एभर्टनका प्रशिक्षक डेभिड मोएसले आफ्ना कप्तानलाई दिइएको रातो कार्डको निर्णयमाथि प्रश्न उठाएका छन्।

ब्रेन्टफोर्डका येहोर यार्मोलिउकमाथि ट्याकल गरेपछि रेफ्री क्रेग पसनले सुरुमा टार्कोस्कीलाई पहेँलो कार्ड मात्र देखाएका थिए। तर, भीएआर रिभ्युपछि रेफ्रीले पहेँलो कार्ड क्यान्सिल गर्दै उनलाई सिधै रातो कार्ड देखाएका हुन्।

निर्णय उल्ट्याउनुको कारणबारे स्पष्ट पार्दै प्रिमियर लिग म्याच सेन्टरले टार्कोस्कीले बल छोए पनि गम्भीर फल गरेको जनाएको छ।

भीएआर र रेफ्रीको निष्कर्षअनुसार टार्कोस्की तीव्र गतिमा थिए र उनको बुटमाथि उठेर विपक्षी खेलाडीको नलीखुट्टामा लागेको थियो, जसले विपक्षी खेलाडीको सुरक्षालाई जोखिममा पारेको ठहर गरिएको छ।

प्रशिक्षक मोएसको प्रतिक्रिया
खेलपछि टकस्पोर्टसँग कुरा गर्दै प्रशिक्षक मोएसले टार्कोस्कीले सहजै बल जितेको र प्रहारपछिको स्वाभाविक गति (फलो थ्रु) का क्रममा खुट्टा माथि उठेको बताए।

रिप्ले हेरेपछि रेफ्रीको निर्णयको आधार बुझे पनि रातो कार्ड नै दिनुपर्ने गरी अत्यधिक बल प्रयोग भएको थियो वा थिएन भन्नेमा आफू विश्वस्त नरहेको उनको भनाइ छ।

यस्तै, क्लबले यस रातो कार्डविरुद्ध अपिल गर्ने वा नगर्ने भन्ने विषयमा अझै निर्णय भइनसकेको उनले स्काई स्पोर्ट्सलाई बताए।

लिभरपुलविरुद्धको खेल गुमाउने
रातो कार्डसँगै टार्कोस्कीमाथि तीन खेलको प्रतिबन्ध लाग्ने भएको छ।

यसका कारण उनले आगामी आइतबार हुने लिभरपुलविरुद्धको महत्त्वपूर्ण ‘मर्सिसाइड डर्बी’ खेल गुमाउनेछन्। टिममा खेलाडी संख्या कम रहेकाले कप्तानको अनुपस्थिति निराशाजनक रहेको मोएसले प्रतिक्रिया दिए।

ब्रेन्टफोर्डको सहज जितमा किन लुइस-पोटरले तीन मिनेटको अन्तरालमै दुई गोल गरे। यस्तै, भिटाली जानेल्टले एक आकर्षक गोल थपे भने खेलको अन्त्यतिर फाबियो कार्भाल्होले चौथो गोल गरे।

मोएसले ब्रेन्टफोर्डको दबाबपूर्ण र उत्कृष्ट खेलको प्रशंसा गर्दै विपक्षीका दुई प्रहार डिफ्लेक्ट भई गोलमा परिणत हुँदा नतिजा आफ्नो पक्षमा नआएको बताए।

लगातार तेस्रो लिग जितको खोजीमा रहेको एभर्टनको यो सिजनको तेस्रो हार हो। हारसँगै एभर्टन अंकतालिकाको नवौँ स्थानमा छ।

प्रिमियर लिगमा यो साताको अन्त्यमा एभर्टन र लिभरपुलबीचको खेलसँगै आइतबार साँझ आर्सनल र म्यानचेस्टर सिटीबीच पनि महाभिडन्त हुँदै छ।

मंसिर ८, २०८३ मंगलबार ०८:२४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।