दिल्लीबाट फर्किएपछि प्रधानमन्त्री बालेनको ‘देश उँभो लाउने टोली!’
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दुईदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि आफ्नो मन्त्रिपरिषद्का दुई प्रमुख मन्त्रीको खुलेर प्रशंसा गरेका छन्।
मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र खिचिएको तस्बिर पोस्ट गर्दै उनले मन्त्रीद्वयलाई ‘देश उँभो लाउने टोली’ को संज्ञा दिएका हुन्।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग विमानभित्र उभिएको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “देश उँभो लाउने टोली! निक्कै मिहिनेती मान्छेहरू!”
प्रधानमन्त्री शाहको पहिलो औपचारिक भारत भ्रमणको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. वाग्ले र परराष्ट्रमन्त्री खनाल मुख्य सहयोगीका रूपमा सहभागी थिए।
भ्रमणका क्रममा नयाँदिल्लीमा दुई देशबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता, दीर्घकालीन आर्थिक सहायता, ऊर्जा सहकार्य, कनेक्टिभिटी तथा विभिन्न सम्झौताको तयारीमा यी दुई मन्त्रीले मुख्य भूमिका खेलेका थिए।
यसअघि सोमबार साँझ नै अर्थमन्त्री डा. वाग्लेले पनि सोही तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै भ्रमणलाई उपलब्धिमूलक र ऐतिहासिक भनेका थिए।
उनले लेखेका थिए, “सम्बन्धको नयाँ उचाइ। अत्यन्तै उपलब्धिमूलक र दूरगामी महत्त्व बोकेको प्रधानमन्त्री बालेन शाहको पहिलो द्विपक्षीय राजकीय भ्रमणको सफल समापन गरी भारतबाट आज साँझ स्वदेश फर्केका छौँ।”
प्रधानमन्त्री शाहले यसअघि पनि मन्त्रिपरिषद्का सदस्यहरूसँगका तस्बिर सार्वजनिक गर्दै उनीहरूको कामको प्रशंसा गर्ने गरेका थिए।
केही समयअघि गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँगको तस्बिर सेयर गर्दै उनले ‘देश बनाउने टोली’ भनी टिप्पणी गरेका थिए।
मंसिर ८, २०८३ मंगलबार १४:२३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।