दिल्ली वार्तामा उठेन लिपुलेकको मुद्दा; भारतले भन्यो- ‘त्यो भारत र चीन जोड्ने पास हो’
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने भारत भ्रमणका क्रममा नेपालको सर्वाधिक संवेदनशील मानिने कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादमध्ये लिपुलेकको विषयमा दुई प्रधानमन्त्रीबीच कुनै ठोस छलफल नभएको भारतले स्पष्ट पारेको छ।
सोमबार साँझ नयाँदिल्लीमा आयोजित विशेष पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिश्रीले लिपुलेक नाका हुँदै हुने भारत-चीन व्यापारप्रति नेपालको आपत्तिको विषय वार्तामा नउठेको मात्र बताएनन्, लिपुलेकलाई ‘भारत र चीनबीचको नाका’ का रूपमा समेत व्याख्या गरे।
पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीले भारत-चीनबीच लिपुलेक हुँदै हुने व्यापारप्रति नेपालको विरोध प्रधानमन्त्री शाहले उठाए कि उठाएनन् भनी प्रश्न गरेका थिए। जवाफमा विदेश सचिव मिश्रीले भने, “लिपुलेकको विषय आजको बैठकमा उठेन। दुई पक्षबीच यसबारे कुनै छलफल भएन।”
यति मात्र होइन, नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको लिपुलेकमाथि भारतको पुरानै अडान दोहोर्याउँदै मिश्रीले थपे, “तपाईंहरूलाई थाहै छ, लिपुलेक भारत र चीनबीचको नाका हो, जसलाई लामो समयदेखि दुई देशबीचको व्यापार र अन्य गतिविधिका लागि प्रयोग गरिँदै आएको छ। हाल विषय यही अवस्थामा छ।”
सीमाबारे संयुक्त विज्ञप्ति र भिजन डकुमेन्टमा के छ ?
प्रत्यक्ष वार्तामा लिपुलेकको नाम नउठे पनि भ्रमणका क्रममा जारी गरिएको संयुक्त प्रेस विज्ञप्ति र ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त भिजन डकुमेन्टमा भने सीमा विवादलाई सामान्य कूटनीतिक भाषामा समेटिएको छ।
संयुक्त भिजन डकुमेन्टको बुँदा नं. ४ मा जलस्रोत, ऊर्जा र व्यापारसँगै सीमासम्बन्धी बाँकी रहेका सबै मुद्दाहरू आपसी छलफल र संवादबाट समाधान गरिने उल्लेख छ।
त्यस्तै, संयुक्त प्रेस विज्ञप्तिको बुँदा नं. १५ मा सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी रहेका सीमा समस्या समाधानका लागि काम गर्न दुवै देशका विदेश सचिवहरूलाई निर्देशन दिइएको छ।
पत्रकार सम्मेलनमा मिश्रीले दुई देशबीच स्थलगत सर्वेक्षण टोली, वरिष्ठ अधिकारीको समिति, बाउन्ड्री वर्किङ ग्रुप र विदेश सचिव स्तरसम्मको बहु-तहको संयन्त्र रहेको उल्लेख गरे।
उनले दुई देशबीचको अधिकांश सुल्झिसकेको सीमामा प्राविधिक काम र स्तम्भ मर्मतसम्भारमा राम्रो प्रगति भएको दाबी गर्दै शीर्ष नेतृत्वको निर्देशनअनुसार निकट भविष्यमै विदेश सचिवहरूको संयन्त्र बस्ने र त्यसले भविष्यमा समस्या नआउने तरिकाले काम गर्ने बताए।
सोही क्रममा उनले सन् २०१८ मा तयार पारिएको नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह अर्थात ईपीजीको प्रतिवेदनलाई समेत अतीतको विषय भन्दै अब सान्दर्भिक नरहेको बताएका थिए।
विगतमा बालेनको कडा अडान, तर दिल्लीमा मौनता
सन् २०२० मा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेयता दुई देशबीच चिसिएको सीमा विवाद दिल्ली वार्तामा प्रत्यक्ष नउठ्नुलाई काठमाडौंको कूटनीतिक र राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
प्रधानमन्त्री शाह स्वयंले विगतमा यो विषयमा अत्यन्तै आक्रामक र कडा अडान राख्दै आएका थिए।
सन् २०२३ जुनमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए भने सोही वर्षको अगस्टमा चीनले जारी गरेको नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतमा देखाइएको विरोधमा चीन भ्रमण नै रद्द गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री बनेपछि पनि गत मे महिनामा भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर तीर्थयात्रा खुलाउने तयारी गर्दा नेपालले आपत्ति जनाएको थियो। गत जुन २०२६ मा समेत प्रधानमन्त्री शाहले कालापानी र लिपुलेकमाथि नेपालको दाबी पुष्टि गर्ने ऐतिहासिक प्रमाण आफूसँग रहेको दृढ अडान राखेका थिए।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भएको पहिलो प्रत्यक्ष द्विपक्षीय वार्तामा लिपुलेकको विशिष्ट मुद्दा नउठाई सीमा विवादलाई पुनः पुरानै ‘विदेश सचिव स्तरको संवाद संयन्त्र’ तर्फ मोड्नुलाई अर्थपूर्ण मानिएको छ।
मंसिर ८, २०८३ मंगलबार १२:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।