ईपीजी प्रतिवेदनबारे भारत- ‘अतीतको कुरा, अब औचित्य छैन’

ईपीजी प्रतिवेदनबारे भारत- ‘अतीतको कुरा, अब औचित्य छैन’

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने औपचारिक भारत भ्रमण सकिएलगत्तै भारतले नेपालमा लामो समयदेखि संवेदनशील र विवादित मानिएका तीन मुख्य मुद्दा- ईपीजी प्रतिवेदन, लिपुलेक नाका र गोर्खा भर्तीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

सोमबार साँझ नयाँदिल्लीमा आयोजित विशेष पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनलाई ‘अप्रासंगिक’ करार गर्दै त्यसलाई अतीतको विषय भएको बताए।

‘ईपीजी प्रतिवेदन अतीतको कुरा हो, अब त्यसको औचित्य छैन’
पत्रकारहरूले सन् २०१६ मा सहमति भई तयार पारिएको र काठमाडौंमा थन्किएको भनिएको ईपीजी प्रतिवेदनबारे राखेको जिज्ञासामा विदेश सचिव मिश्रीले ठाडो शब्दमा त्यसको सान्दर्भिकता सकिएको संकेत गरे।

“मलाई त्यो प्रतिवेदन ठ्याक्कै कहाँ छ भन्ने थाहा छैन,” मिश्रीले भने, “त्यो अतीतको कुरा भइसक्यो। हामी पछाडि फर्केर हेरिरहेका छैनौँ, भविष्यतर्फ हेरिरहेका छौँ। त्यसैले तपाईंले उल्लेख गर्नुभएको प्रतिवेदन अहिले सान्दर्भिक छैन।”

उनले दुई देशका प्रधानमन्त्रीबीच जारी गरिएको नयाँ ‘संयुक्त भिजन डकुमेन्ट’नै अबको सम्बन्धको मार्गचित्र भएको बताए।

लिपुलेकबारे कुरै उठेन, भारतले भन्यो- ‘भारत र चीनबीचको व्यापारिक नाका’
भारत र चीनबीच लिपुलेक नाका हुँदै भइरहेको व्यापारप्रति नेपालले राख्दै आएको आपत्ति प्रधानमन्त्री शाहले मोदीसमक्ष उठाए कि उठाएनन् भन्ने प्रश्नमा भारतीय विदेश सचिवले उक्त विषय वार्तामा प्रवेश नै नपाएको स्पष्ट पारे।

“लिपुलेकको विषय आजको बैठकमा उठेन, दुई पक्षबीच यसबारे कुनै छलफल भएन”, मिश्रीले भने।

त्यति मात्र होइन, उनले लिपुलेकलाई नेपालको दाबीविपरीत ‘भारत र चीनबीचको नाका’ का रूपमा व्याख्या गर्दै त्यहाँबाट लामो समयदेखि दुई देशबीच व्यापार र अन्य गतिविधि हुँदै आएको दाबीसमेत दोहोर्याए।

सीमा, १९५० को सन्धि र गोर्खा भर्ती
यद्यपि, संयुक्त भिजन डकुमेन्टको बुँदा नं. १५ मा सीमा विषय उल्लेख गरिएको र त्यसलाई अघि बढाउन दुवै देशका विदेश सचिवलाई निर्देशन दिइएको मिश्रीले जानकारी दिए।

उनले ७५ वर्षभन्दा पुरानो सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्ने विषय संयुक्त दस्तावेजमा समेटिएको स्वीकार्दै दुवै पक्षले आ-आफ्ना प्राथमिकता तय गरी गृहकार्य गरेपछि उपयुक्त संयन्त्रमार्फत छलफल अघि बढाइने बताए।

सीमा सुरक्षाबारे सोधिएको प्रश्नमा मिश्रीले खुला र पासपोर्टबिना आवतजावत हुने सीमाको फाइदा उठाएर ‘दुष्कर्म’ गर्न खोज्ने तत्त्वहरूलाई रोक्न सीमा सुरक्षालाई प्राथमिकतामा राखिएको र सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा दुवै देशका सुरक्षा निकाय सक्रिय रहेको बताए।

यता, भारतको ‘अग्निपथ’ योजनाका कारण रोकिएको गोर्खा भर्ती र नेपालमा हालै भएका ‘जेन-जी’ तथा युवा प्रदर्शनका विषयमा पनि दुई प्रधानमन्त्रीबीच कुनै कुराकानी नभएको मिश्रीले स्पष्ट पारे।

मोदी-बालेन ‘वान-अन- वान’ वार्ता
हैदराबाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेन शाहबीच लामो समय चलेको वान-अन-वान भेटवार्ताबारे पत्रकारहरूले पटक-पटक जिज्ञासा राख्दा विदेश सचिव मिश्रीले कूटनीतिक जवाफ दिए।

उनले भने, “यदि कुनै कुराकानी एकान्तमा भइरहेको छ भने त्यसको अर्थ मलाई अहिले नै ती विषय बाहिर ल्याउने अनुमति वा छुट छैन भन्ने हो।”

२४ हजार करोडको प्याकेज र अन्य सहमति
विवादित मुद्दाहरू पन्छाउँदै भारतले यो भ्रमणलाई भविष्यमुखी र विकास केन्द्रित देखाउन अहिलेसम्मकै ठुलो १५ हजार करोड भारुको आर्थिक सहायता प्याकेज घोषणा गरेको छ।

जसमध्ये ११ हजार ५०० करोड भारु ऊर्जा तथा प्रसारण लाइनका लागि पहिलो पटक भारतीय रुपैयाँमै सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ।

बाँकी ३ हजार ५०० करोड भारु अनुदान गत अगस्टमा रसुवा-भोटेकोसी बाढीले त्रिशूली जलविद्युत् प्रणालीलगायतमा पुर्याएको करिब ५ अर्ब डलर बराबरको क्षतिपछिको पुनर्निर्माणमा खर्च गरिनेछ।

भ्रमणका क्रममा अयोध्या-जनकपुर ‘सरयू-कमला एक्सप्रेस’ रेल, दार्चुला-धार्चुला पुल भर्चुअल उद्घाटन, गुजरातको काण्डला (दीनदयाल पोर्ट) र ओडिशाको पारादीप बन्दरगाहमा नेपाललाई पारवहन पहुँच, रक्सौल-काठमाडौं रेलमार्गको सर्वेक्षण सम्पन्न, चितवनमा कृषि-औद्योगिक पार्क, नागरिक उड्डयन (एभिएसन) कनेक्टिभिटी र नेपालमा आईआईटीको क्याम्पस स्थापना गर्ने लगायतका समझदारी भएका छन्।

बालेन शाहले राष्ट्रसंघीय महासभामा राखेको ‘हिमालयन डायलग’को प्रस्तावबारे भारतले नेपालबाट ठोस र औपचारिक प्रस्ताव पर्खिरहेको मिश्रीले बताए। शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

मंसिर ८, २०८३ मंगलबार ११:४४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।