ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमामा ५.६ म्याग्निच्युडको भूकम्प
काठमाडौं : ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १९ मिनेटमा उक्त भूकम्प गएको हो।
भूकम्पको धक्का ताप्लेजुङसहित कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ।
यस्तै, सीमावर्ती भारतको सिक्किम र पश्चिम बंगालका केही स्थानमा पनि कम्पन महसुस भएको थियो।
भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भए/नभएको बारे हालसम्म कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) र युरोपेली-भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) ले भने उक्त भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेका छन्।
यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला नजिकै पर्ने भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा र पृथ्वीको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो।
मंसिर ८, २०८३ मंगलबार ०८:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।