‘सरयू-कमला एक्सप्रेस’ रेल जनकपुर आइपुग्यो, मुख्यमन्त्री र श्रममन्त्रीद्वारा यात्रुको स्वागत

‘सरयू-कमला एक्सप्रेस’ रेल जनकपुर आइपुग्यो, मुख्यमन्त्री र श्रममन्त्रीद्वारा यात्रुको स्वागत

जनकपुरधाम : भारतको अयोध्याबाट १७ बोगीसहित छुटेको ‘सरयू-कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।

करिब एक हजार एक सय भारतीय अतिथि तथा यात्रु बोकेको उक्त रेल बिहान ९:४० बजे जनकपुरधाम रेलवे स्टेसनमा आइपुगेको हो।

अयोध्याबाट आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास तथा स्थानीय बासिन्दाहरूले फूलमालाले भव्य स्वागत गरेका छन्।

यात्रुहरूको स्वागतका लागि रेलवे स्टेसन परिसरमा विशेष पण्डाल र मञ्च निर्माण गरिएको थियो। स्टेसनमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै मिथिलाको संस्कृति झल्किने धार्मिक तथा सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो।

नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेलवे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा अतिथिहरूलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरको दर्शन तथा भोजनको व्यवस्था मिलाइएको छ।

पैदल हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क सवारीसाधनको समेत प्रबन्ध गरिएको मेयर साहले जानकारी दिए। मन्दिर दर्शन र स्वागत सत्कारपश्चात् यो रेल आजै दिउँसो अयोध्या फर्किने कार्यक्रम छ।

प्रधानमन्त्रीद्वयले गरेका थिए उद्घाटन
भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत हरियो झन्डा देखाएर यो रेल सेवाको उद्घाटन गरेका थिए।

सोमबार दिउँसो १:४५ बजे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भिडिओ कन्फरेन्समार्फत बिदाइ गरेपछि रेल अयोध्या क्यान्ट स्टेसनबाट जनकपुरधामका लागि प्रस्थान गरेको थियो।

प्रारम्भिक चरणमा साप्ताहिक रूपमा सञ्चालन हुने यो रेलले भारतको उत्तर प्रदेश र बिहारका विभिन्न प्रमुख सहर हुँदै करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ।

भगवान् रामको नगरी अयोध्या र माता सीताको नगरी जनकपुरधाम प्रत्यक्ष रेल सञ्जालमा जोडिएसँगै दुई देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने र यस क्षेत्रको धार्मिक पर्यटन तथा व्यापारमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ।

मंसिर ८, २०८३ मंगलबार १०:४८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।