ऐतिहासिक १००औँ खेलमा ५०औँ जित !

ऐतिहासिक १००औँ खेलमा ५०औँ जित !

काठमाडौं : कतारको दोहामा जारी ‘एसिया कप राइजिङ स्टार्स’ क्रिकेटमा आइतबार युएईमाथि ६ विकेटको सहज जितसँगै एकदिवसीय (ओडीआई) क्रिकेटमा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ।

सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेयता नेपालको यो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो भने युएईविरुद्धको सफलता नेपालको ५०औँ ओडीआई जित बनेको छ।

शुक्रबार मात्रै भारत ‘ए’ विरुद्ध २६ रनमै अलआउट भएर आफ्नो एकदिवसीय इतिहासकै न्यून स्कोर र ३ सय ६ रनको लज्जास्पद हार बेहोरेको नेपालले ४८ घण्टा नबित्दै सानदार मानसिक पुनरागमन गरेको हो।

युएईलाई १ सय ६८ बल बाँकी छँदै हराएर नेपाली टोलीले अब मंगलबार समूह चरणको अन्तिम तथा निर्णायक खेलमा अपराजित साविक विजेता पाकिस्तान ‘ए’ को सामना गर्दैछ।

कीर्तिमानी खेलमा सन्दीप र कुशलको चमक, तीन खेलाडीको डेब्यु
आइतबारको ऐतिहासिक खेल नेपालका तीन युवा खेलाडी- लोकेश बम, मयन यादव र राशिद खानका लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युका रूपमा पनि स्मरणीय रह्यो।

टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले युएईको ब्याटिङ लाइनअप ध्वस्त पारे। कप्तान सन्दीपले १० ओभरमा ३ मेडन राख्दै मात्र ११ रन खर्चेर ३ विकेट लिए र प्लेयर अफ द म्याच बने।

बलिङमा उत्कृष्ट साथ दिएका कुशलले ५ ओभरमा २ मेडनसहित १५ रन दिएर ३ विकेट झारे भने राशिद खान, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए। कसिलो बलिङसामु युएई ३९.५ ओभरमा १ सय २१ रनमै समेटियो।

१ सय २२ रनको सामान्य लक्ष्य पछ्याउँदा नेपालले सुरुवाती ८ रनमै अर्जुन कुमाल (५) र देव खनाल (०) लाई गुमाए पनि कुशल भुर्तेलले इनिङ्स सम्हाले। उनले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए, जुन उनको एकदिवसीय करियरको १०औँ अर्धशतक हो।

डेब्यु खेलमै मयन यादवले २८ बलमा २७ रन जोड्दै कुशलसँग ६१ रनको साझेदारी गरे। वसिर अहमद (अविजित १८) र पवन सर्राफ (अविजित ९) ले २२औँ ओभरमै नेपाललाई जित दिलाए। यो जितसँगै १०० ओडीआईमा नेपालको नतिजा ५० जित, ४७ हार, १ बराबरी र २ नतिजाविहीन भएको छ।

भोलि पाकिस्तान ‘ए’ सँग कठिन परीक्षा र सेमिफाइनल समीकरण
युएईविरुद्धको जितले नेपालको सेमिफाइनल पुग्ने गणितीय आशा जीवित राखे पनि भोलि मंगलबार हुने खेल नेपालका लागि फलामको चिउरासरह हुनेछ।

नेपालको प्रतिद्वन्द्वी पाकिस्तान ‘ए’ले आइतबार राति मात्रै स्टार खेलाडीहरूले भरिएको भारत ‘ए’ लाई ४८ रनले पराजित गर्दै समूह ‘बी’ मा लगातार दोस्रो जित दर्ता गरिसकेको छ।

हाल समूह ‘बी’ को अंक तालिकामा पाकिस्तान ‘ए’ ४ अंकसहित शीर्ष स्थानमा छ। भारत ‘ए’ र नेपालको समान २-२ अंक छ भने दुवै खेल हारेको युएई अंकविहीन छ।

भारत ‘ए’ सँगको फराकिलो हारका कारण नेपालको नेट रनरेट निकै कमजोर भएकाले सेमिफाइनल समीकरण कठिन बनेको छ। भोलि नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नुअघि बिहान भारत ‘ए’ र युएईबीच खेल हुनेछ।

यदि युएईले भारत ‘ए’ लाई स्तब्ध पारेमा नेपालले पाकिस्तान ‘ए’ लाई सामान्य अन्तरले हराए पनि ४ अंकसहित सेमिफाइनलमा स्थान बनाउनेछ।

तर, भारत ‘ए’ ले युएईलाई हराएमा भने नेपालले पाकिस्तान ‘ए’ माथि जित हात पारेर मात्र पुग्ने छैन, कमजोर नेट रनरेट सुधार्न असम्भवजस्तै देखिने विशाल अन्तरको जित निकाल्नुपर्ने हुन्छ।

समूह समीकरण जस्तोसुकै भए पनि २६ रनको पीडा बिर्साएर लयमा फर्किएको नेपालले भोलि बलियो पाकिस्तान ‘ए’ विरुद्ध कडा टक्कर दिँदै प्रतियोगिताको सुखद अन्त्य वा चमत्कारिक सेमिफाइनल यात्राको खोजी गर्नेछ।

मंसिर ७, २०८३ सोमबार ०८:०६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।