आजको मौसम : दिउँसो देशभर मौसम सफा रहने, राति तीन प्रदेशमा आंशिक बदली

आजको मौसम : दिउँसो देशभर मौसम सफा रहने, राति तीन प्रदेशमा आंशिक बदली

काठमाडौं : हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ।

अहिले बिहान देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, बुधबार देशको हिमाली क्षेत्रका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

हाल आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी नगरिएको भए पनि मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

मंसिर ८, २०८३ मंगलबार ०७:३८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।