परिवार खेतमा व्यस्त हुँदा घरमा दन्कियो आगो, महत्त्वपूर्ण कागजातसहित सबै खरानी
सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्रस्थित हिरेडाँडामा सोमबार दिउँसो आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब तीन लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको काठले निर्मित र टायलको छाना भएको दुईतले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।
आगलागी हुँदा बलको परिवार खेतमा काम गर्न गएकाले घरमा कोही थिएनन्। घर खाली रहेका कारण मानवीय तथा चौपाया क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
तर, घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर र नगदका साथै नागरिकता, विवाह दर्ता, जन्म दर्ता र पासपोर्टलगायत महत्त्वपूर्ण कागजात जलेर खरानी भएका छन्।
घटनास्थल विकट चुरे क्षेत्रमा पर्ने भएकाले इलाका प्रहरी कार्यालय कर्मैयामा सोमबार साँझ मात्र खबर पुगेको थियो। सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।
मंसिर ८, २०८३ मंगलबार ०७:२७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।