‘इतिहासका महिला पात्रको चरित्र र व्यक्तिगत जीवन जोडेर दोषी बनाउने प्रवृत्ति देखियो’

‘इतिहासका महिला पात्रको चरित्र र व्यक्तिगत जीवन जोडेर दोषी बनाउने प्रवृत्ति देखियो’

नीलम कार्की ‘निहारिका’ नेपाली साहित्यकी अग्रणी लेखकमध्ये एक हुन्। पौराणिक र ऐतिहासिक महिला पात्रलाई नारीवादी दृष्टिकोणबाट लेख्न रुचाउने कार्की २०४१ सालमा ‘आमा’ कवितामार्फत नेपाली साहित्यमा प्रवेश गरेकी हुन्। उनका कविता, कथा र उपन्यास विधाका १२ कृति प्रकाशित छन्।

निहारिकाका उपन्यासहरू ‘चीरहरण’ (२०७२), ‘योगमाया’ (२०७४) र ‘द्रौपदी अवशेष’ (२०७८) ले क्रमशः पद्मश्री साहित्य पुरस्कार, मदन पुरस्कार र गँकी धुस्वाँ-वसुन्धरा पुरस्कार (२०७८) प्राप्त गरेका छन्। त्यस्तै, उपन्यास ‘अर्की आइमाई’ ले सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक पुरस्कार (२०७१) र कथासङ्ग्रह ‘बेली’ ले नइ गणेश-दुर्गा पुरस्कार (२०७१) पाएको छ।

हालै प्रकाशित उपन्यास ‘राजमाता’ ले कविडाँडा आख्यान पुरस्कार जित्न सफल भयो। उनी राधादेवी सद्भाव स्रष्टा सम्मान (२०७७) र योगमाया राष्ट्रिय पुरस्कार (२०८१) बाट समेत विभूषित छिन्। उनै निहारिकासँग उकेराकर्मी प्रजु पन्तले ‘राजमाता’ उपन्यासमा केन्द्रित रहेर गरेको कुराकानी:

तपाईं ऐतिहासिक र पौराणिक महिला पात्रलाई केन्द्रमा राखेर लेख्न रुचाउनुहुन्छ, यसको कारण चाहिँ के हो?
गैरआख्यानमा महिला पात्रबारे उल्लेख त हुन्छ, तर जसरी फैलिनुपर्ने हो त्यसरी भएको पाइँदैन। त्यही समयलाई उपन्यासकै माध्यमबाट भए पनि हेर्दा त्यहाँका घटना कस्ता देखिएलान् भन्ने लागेर मैले यो लेखन सुरु गरेकी हुँ। ऐतिहासिक पात्रमाथि औपन्यासिकरण गर्ने चलन संसारभरकै हो, हाम्रैमा पनि धेरै किताब लेखिएका छन्।

मैले ‘योगमाया’ उपन्यास लेखेपछि आमाले ‘राजमाता’ का बारेमा किन नलेख्ने भनेर सुझाउनुभएको थियो। पौराणिक र ऐतिहासिक पात्रलाई उपन्यासमा किन नढाल्ने भनेरै मैले यसमा काम सुरु गरेकी हुँ।

तपाईं कुनै लेखकबाट प्रभावित हुनुहुन्छ?
लेखकबाट भन्दा पनि किताबबाट चाहिँ प्रभावित छु। टल्सटोयले ‘वार एन्ड पिस’ अत्यन्त जीवन्त उतारेका छन्, पढ्दा युद्ध मैदानमै भएजस्तो महसुस हुन्छ। नेपालकै डायमनशमशेर राणाले आफ्ना उपन्यासहरूमा ऐतिहासिक पात्रहरूलाई दुरुस्त उतारेको महसुस हुन्छ।

त्यतिबेलाको दरबारका कुराहरू हामी आम मान्छेले बुझ्ने गरी आएका छन्। राणाकालीन समय के र कस्तो थियो भन्ने कुरा हामीले मज्जाले पढ्न पायौँ। नेपालको ऐतिहासिक आख्यान लेखनमा चाहिँ म डायमनशमशेरबाट एकदमै प्रभावित छु।

किताबमा प्रवेश गरौँ! ‘राजमाता’ मा तपाईंले इतिहासकारहरू ह्यामिल्टनदेखि नयराज पन्त, धनवज्र वज्राचार्य तथा महेशराज र दिनेशराज पन्तसम्मलाई सम्झनुभएको छ। एक ठाउँमा ज्ञानमणि नेपाल र नयराज पन्तबीचको संवादमा ज्ञानमणिले इतिहासका महिला पात्रबारे विमर्श नभएको भन्दा नयराजले विषय मोडेको प्रसंग लेख्नुभएको छ। तपाईंलाई इतिहासकारहरूले महिला पात्रबारे पर्याप्त नलेखेको वा विमर्श नगरेको लाग्छ हो?
(हाँस्दै...) इतिहासकारहरूले महिला पात्रबारे लेख्दै नलेखेको भन्न चाहिँ नमिल्ला। उहाँहरूले शिलालेखबाट उतारेर अनुसन्धानमूलक लेखहरू नलेखिदिनुभएको भए मैले यो काम गर्नै सक्ने थिइनँ। यति हुँदाहुँदै पनि मेरो भनाइ के हो भने, ऐतिहासिक महिला पात्रहरूबारे जसरी विषय आउनुपर्ने हो त्यसरी चाहिँ नआएकै हो। सशक्त रूपमा महिला पात्रहरूलाई उठाउन छुटेकै हो।

लिच्छविकालको केही अंश छुनुभएको छ, अनि १३८२ देखि १८३२ सालसम्मका राजनीतिक महिला पात्रहरूलाई समेट्नुभएको छ। महिला पात्रलाई प्रमुख बनाउनुचाहिँ इतिहास लेखनमा संलग्न इतिहासकारहरूप्रति उपन्यासकारको असन्तुष्टि पोखेको भन्न त मिल्यो नि?
अलिअलि असन्तुष्टि पनि हो। ‘राजमाता’ मेरो आमाले सोच्नुभएको विषय हो। यसको अर्थ इतिहास पढ्दै गर्दा जोकोहीलाई पनि ऐतिहासिक पात्रमा महिलाहरू छुटेका छन् भन्ने लाग्ने रहेछ। म साहित्यकी विद्यार्थी पनि भएकाले यसलाई उपन्यासमा ढाल्नुपर्छ भन्ने लागेको हो।

मैले लिच्छविकालकी रानी राज्यवतीको सुरुवाती प्रसंग र त्यसपछि मल्लकालमा नायबी भएर सत्ता चलाएका महिलाहरूबारे लेखेँ। रणनीतिक रूपमा महिलाहरू सफल थिए। उदाहरणका लागि, सिम्रौनगढसँगको युद्ध रोक्न देवलदेवीको विवाह सिम्रौनगढका हरिसिंहदेवसँग भएको देखिन्छ।

त्यतिबेला राजा जयतुङ्ग मल्लको निधन भइसकेको थियो। उनकी आमा पद्मुल्लदेवीले छोरीको विवाह ‘शत्रु’ सँग गराएर युद्ध रोक्ने रणनीति लिएकी थिइन्। त्यतिबेलाका घटनाक्रम चार्ट बनाएर हेर्दा विवाह र युद्ध रोकिनुको समय मिल्ने भएकाले मैले उपन्यासमा त्यसरी लेखेकी हुँ। जसरी राजाहरूको युद्धकौशल र राज्यप्रतिको प्रेम दस्तावेजहरूमा पाइन्छ, महिलाहरूको त्यस्तो विवरण पाइँदैन।

किन होला?
इतिहासकारहरूले उपलब्ध शिलापत्र, ताम्रपत्र, ताडपत्र र लेखोटहरू हेर्दा राजाहरूकै प्रशस्तिमा लेखिएका विवरणहरू बढी पाइएर पनि होला। अर्कोतिर, रानीहरूले गरेका काम र उनीहरूको कार्यकौशलको व्याख्या नहुनु मलाई उपयुक्त लागेन। उपन्यासकार भएको नाताले ती पात्रहरूलाई उपन्यासमा ढाल्नुबाहेक मसँग अरू विकल्प पनि त थिएन।

आख्यान लेख्न गैरआख्यानको गहिरो अध्ययन भयो है?
गैरआख्यानको अध्ययनबिना त लेख्नै नसकिने रहेछ नि! मैले २०७४ मा ‘योगमाया’ लेखिसक्ने बित्तिकै ‘राजमाता’ को अध्ययन सुरु गरेकी हुँ। धेरै इतिहासकारहरूलाई भेटेँ। पाण्डुलिपि समेत प्रा. दिनेशराज पन्तले हेरिदिनुभयो। उपन्यास भए पनि तथ्य नबिग्रियोस् भन्नेमा म सचेत थिएँ। स्थलगत अध्ययनका लागि म चाँगुनारायण र गोरखादेखि सिम्रौनगढसम्म पुगेँ।

ऐतिहासिक पात्रहरूलाई औपन्यासिकरण गर्दाका चुनौतीहरू के-के रहे?
उपन्यास भइसकेपछि कल्पनाशीलताको प्रयोग त हुन्छ नै, तर तिथिमितिहरू मैले इतिहासबाटै लिएकी छु। घटनाक्रम तलमाथि हुनुभएन, धेरै काल्पनिकतासमेत जोड्न नसकिने रहेछ। उपन्यासकार भए पनि यथार्थमा टेकेर हिँडेको महसुस गरेकी छु। म उपन्यासकार हुँ भन्दैमा ऐतिहासिक पात्रहरूलाई बङ्ग्याएर लेख्न त मिलेन नि!

तपाईंको पुस्तकमा मल्लकालमा नायबी भएर सत्ता चलाएका पात्रहरूको कथादेखि पृथ्वीनारायण शाहकी आमा चन्द्रप्रभावती र मल्लिकावतीसम्मका भूमिका समेटिएका छन्। तपाईं यसमा प्रमुख पात्र कसलाई मान्नुहुन्छ?
मल्लकालमा देवलदेवी र पद्मुल्लदेवी नै मुख्य नायक देखिन्छन्। अघि नै भनेँ, पद्मुल्लदेवीले युद्ध रोक्न रणनीतिकारको भूमिका खेलेको देखिन्छ। त्यसपछि म एकैपटक दोस्रो अध्यायमा उक्लिएकी छु, जहाँ राजमाता मल्लिकावतीबारे उल्लेख छ।

राज्य सञ्चालनमा आफ्नो आधिपत्य कायम गर्न र छोरा नरभूपाललाई उत्तराधिकारी बनाउने प्रयासमा उनको समयसान्दर्भिक र मनोवैज्ञानिक संघर्ष केलाएकी छु।

अर्को अध्यायमा चन्द्रप्रभावतीलाई अर्की ‘राजमाता’ का रूपमा प्रस्तुत गरेकी छु। यसरी हेर्दा आ-आफ्ना कालखण्डमा रानीहरूले तत्कालीन सत्ता जोगाउन आफ्नो तर्फबाट रणनीति बनाएको देखिन्छ। त्यसैले अध्यायअनुसार नै प्रमुख पात्रहरू तय भएका छन्।

राजेन्द्रलक्ष्मीले आफ्नो नायबी शासनकालमा अप्ठ्यारा राज्यहरू समेत गाभेको देखिन्छ। तपाईं त्यहीँ आइपुगेपछि ट्याक्कै उपन्यास सकाउनुभयो। राजेन्द्रलक्ष्मीबारे छुट्टै किताब लेख्न खोज्नुभएको हो?
(हाँस्दै...) उहाँबारे छुट्टै उपन्यास लेख्न नसकिने होइन। मैले मात्रै होइन, जोकोहीले लेख्न सक्नुहुन्छ। मैले बाँकी इतिहास पढ्नै बाँकी रहेकाले उपन्यास त्यहीँ टुङ्गियो भनौँ।

तपाईंको उपन्यासमा सत्तासंघर्ष, राजनीतिक दाउपेच, उत्तराधिकार र राज्य सञ्चालनमा महिला पात्रहरूको भूमिका उल्लेख छ। अध्ययनका क्रममा इतिहासमा महिलाहरू राजनीतिक सक्रियताका पात्र मात्र थिए कि सत्ता निर्माण र सञ्चालनका सक्रिय हिस्सेदार पनि थिए भन्ने लाग्यो?
दाजुको देहान्त भएपछि देवलदेवीले शासन सम्हालेको देखिन्छ। रानीहरू आफैँ सुरुदेखि सक्रिय भएर शासन गरेका होइनन्उके श्रीमान् वा छोराको निधन भएपछि भने त्यो सत्ता आफ्नै मातहत राख्न मिहिनेत गरेको देखिन्छ।

कतिपय अवस्थामा उनीहरू सफल पनि भए। तर सत्य के हो भने, पूरै स्वतन्त्र रूपमा महिलाहरूले मात्र शासन गरेको भने देखिँदैन। उनीहरूले ज्वाइँ भित्र्याएर भए पनि पुरुषकै माध्यमबाट शासन चलाएको पाइन्छ।

इतिहासका महिला पात्रहरूलाई प्रस्तुत गर्दा उनीहरूको चरित्र, सम्बन्ध र व्यक्तिगत जीवनलाई जोडेर दोषी बनाउने प्रवृत्ति देखिन्छ। यस्ता प्रस्तुतिले इतिहासमा महिलाको छवि निर्माणमा कस्तो असर पारेको छ भन्ने लाग्छ?
हो, रानीहरूलाई व्यक्तिगत सम्बन्धसँग जोडिदिने र बुद्धि नभएको रूपमा चित्रण गरिएका उदाहरण पनि छन्। तर, सबै इतिहासकारहरू महिलाको छवि बिगार्न नै लागेका थिए भन्ने चाहिँ होइन।

अन्त्यतिर, तपाईं अहिले कुन किताब पढिरहनुभएको छ?
केही दिनअघि कलकत्ता गएकी थिएँ, त्यहाँबाट लैनसिंह बाङ्देलको पुस्तक ल्याएकी छु। साथै, ‘बाह्रखरी’ को कथा सङ्ग्रह प्रकाशित भएको छ, त्यही हिजोदेखि पढ्न सुरु गरेकी छु।

अमेरिका बस्नुहुन्छ, नेपाल आउँदा पुस्तकहरू लिएर फर्कनुहुन्छ है?
यसपालि चाहिँ म अनुसन्धानमै व्यस्त छु। फेरि अर्को किताब त लेखिहालिन्छ नै।

लेखनका लागि समय कसरी मिलाउनुहुन्छ?
छोराहरू हुर्किसके। त्यसैले मलाई अहिले लेख्न सहज छ।

मंसिर ८, २०८३ मंगलबार ०९:४६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।