पाकिस्तान ‘ए’सँग हार्‍यो भारत ‘ए’, हसन नवाजको अलराउन्ड प्रदर्शन

पाकिस्तान ‘ए’सँग हार्‍यो भारत ‘ए’, हसन नवाजको अलराउन्ड प्रदर्शन

एजेन्सी : एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ ले भारतलाई ४८ रनले पराजित गरेको छ।

हसन नवाजको शानदार अलराउन्ड प्रदर्शनसामु तिलक वर्माको शतक ओझेलमा परेपछि पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।

३ सय १४ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको भारत अन्तिम ओभरमा २ सय ६५ रन बनाएर अलआउट भयो। भारतका लागि तिलक वर्माले १०० रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

सुरुवातमा निकै सुस्त खेलेका उनले ३६ बलमा ८ रन मात्र बनाएका थिए, तर पछि लय समात्दै ९५ बलमा अर्धशतक र अन्तिममा शतक पूरा गरे। अन्तिम विकेटका रूपमा आउट हुनुअघि उनले टोलीलाई जित नजिक पुर्याउने प्रयास गरेका थिए।

भारतका लागि ओपनर अभिषेक शर्माले ४२ बलमा ७० रन बनाउँदै टोलीलाई ९३-२ को स्थितिमा पुर्याएका थिए। तर, उनी आउट भएपछि भारतको ब्याटिङ धर्मरायो र १२९ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो।

वैभव सूर्यवंशी ११ रनमा आउट भए भने रिंकु सिंह र सूर्यान्श शेड्गे दोहोरो अंकको रन नबनाई पभेलियन फर्किए।

संकटमा परेको भारतका लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका शहबाज अहमद र तिलकले सातौँ विकेटका लागि शतकीय साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए।

शहबाजले ४१ बलमा अर्धशतक पूरा गर्दै ५६ रन बनाए, जसले गर्दा भारतलाई अन्तिम १० ओभरमा जितका लागि ९१ रन मात्र चाहिएको थियो।

तर, पाकिस्तानी बलरहरूले लगातार ३० बलसम्म बाउन्ड्री रोकेर दबाब सिर्जना गरेपछि ४४औँ ओभरमा शहबाज आउट भए। लगत्तै अर्को बलमा अली रजाले विप्राज निगमलाई बोल्ड गरेपछि पाकिस्तान खेलमा पूर्ण रूपमा हाबी भयो।

पाकिस्तानको बलिङमा हसन नवाजले ४५ रन खर्चेर ३ तथा अली रजाले ५६ रन खर्चेर ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो। पाकिस्तानका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे। हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने माज सदाकतले ५९ र फरहान युसुफले ४८ बलमा ५६ रनको योगदान दिए।

ओपनर शामिल हुसेन र सदाकतले ६६ रनको आक्रामक सुरुवाती साझेदारी गर्दै भारतलाई सुरुमै दबाबमा राखेका थिए।

भारतले स्पिन बलिङ ल्याएपछि आयुष बडोनीले हुसेन र रोहिल नजिरलाई लगातार आउट गरे पनि नवाज र कप्तान अब्दुल समदले ६५ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले।

भारतका लागि बलिङमा सूर्यान्श शेड्गेले ४५ रन र विप्राज निगमले ४६ रन खर्चेर २–२ विकेट लिए।

मंसिर ७, २०८३ सोमबार ०७:४९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।