एनपिएल तेस्रो सिजन : जुवाको सरोगेट बन्द भएसँगै खुल्यो रक्सीको प्रचार, ठेक्कामा देखिए सचेत

एनपिएल तेस्रो सिजन : जुवाको सरोगेट बन्द भएसँगै खुल्यो रक्सीको प्रचार, ठेक्कामा देखिए सचेत

काठमाडौं : पहिलो शृङ्खलाको तुलनामा तेस्रो शृङ्खलामा नेपाल प्रिमियर लिगको आर्थिक र व्यवस्थापकीय पक्षमा केही सुधार देखिए पनि विवादले भने छाडेन। पहिलो र दोस्रो श्रृंखला बदनीयतपूर्ण रूपमा भएका आर्थिक गतिविधिले विवादमा तानिएको थियो। कार्तिक ५ गतेदेखि मंसिर ७ गतेसम्म चलेको तेस्रो श्रृंखला केही टिमको मदिरा प्रचारमोह र क्यानको अव्यवस्थाका कारण विवादमा तानियो।

तेस्रो शृङ्खलासम्म पुग्दा यसको आर्थिक आकार करिब १ अर्ब ५० करोड नाघ्ने देखिन्छ। लिग भर्खरै सकिएकोले अहिले नै कति कारोबार भयो भन्ने एकिन नभए पनि १ अर्ब ५० करोड पार हुने सहजै देखिन्छ। 

व्यवस्थापनमा पनि मनोमानी गर्दै आएको क्यान तेस्रो शृङ्खलामा आएर भने कानुनको परिधि भित्र बस्न बाध्य भयो। खेलमा जुवा मिसाउन नहिचकिचाउने गभर्निङ काउन्सिलले यो पाली त्यो हिम्मत गरेन। तर सरोगेटका रूपमा मदिरा भने छिराइछाड्यो। अन्य के के भए त तेस्रो सिजनमा?

जुवाको सरोगेट बन्द, रक्सीको खुल्ला

नेपालमा जुवा प्रवर्धन प्रतिबन्धित भए पनि एनपिएलको पहिलो र दोस्रो सिजनमा सरोगेटबाट अनलाइन जुवा छिरे। पहिलोमा वुल्फत्रिपलसेभेनन्यूजको नाममा वुल्फत्रिपलसेभेन नामक अनलाइन जुवा खेलाउने कम्पनीको प्रचार भएको थियो। दोस्रो सिजनमा डाफाबेटको सरोगेट डाफान्यूज ल्याएर क्यानले नै जुवाको प्रचार गरेको थियो।

सरकारले नेपालमा सबै प्रकारका अनलाइन बेटिङ एप र साइटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि तेस्रो शृङ्खलामा अनेक बहानामा क्रिकेट मैदानलाई जुवा प्रचार थलो बनाउने हिम्मत गरेन क्यानले।

सरकारले २०८२ चैत्र १४ गतेको मन्त्रीपरिषद् निर्णयबाटै नेपालमा अनलाइन जुवा खेलाउने एपहरू बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो। 

क्यानले औपचारिक रूपमा जुवा खेलाउने कम्पनीको प्रचार नगरे पनि लिगमा सहभागी विभिन्न टिमका खेलाडीले एनपिएल खेल्दाखेल्दै आफ्नो सामाजिक सञ्जालबाट जुवा खेलाउने एपहरूको प्रचार गरेका थिए।

जुवा रोकिएको लिगमा रक्सीको विज्ञापनले प्रवेश पायो। दोस्रो सिजनमा गोल्डेन वक नामक मदिरा पानीको आवरणमा एनपिएलमा छिरेको थियो। तेस्रो सिजनमा पनि यो कायमै रह्यो। यस पटक यसले पानीकै रूपमा कीर्तिपुर नगरपालिकाबाट अनुमति पनि पायो। यसले नेपालमा मदिराको सरोगेट विज्ञापनले वैधता पायो।

तेस्रो शृङ्खलामा केही टिमले प्रोबब्लीको नाममा कार्ल्सबर्गको सरोगेट विज्ञापनलाई नेपालमा प्रवेश गराए। तर यसले न स्थानीय पालिकाबाट अनुमति लिएको देखियो न त विज्ञापन बोर्डबाट।

ठेक्का प्रक्रियामा सुधार 

पहिलो र दोस्रो सिजनमा व्यवस्थापनदेखि ब्रोडकास्टसम्मको मनलाग्दी ठेक्का दिने गरेको क्यानले तेस्रो शृङ्खलामा पुगेर प्रक्रियागत रूपमा ठेक्का खुलायो। पहिलो र दोस्रो सिजनमा सार्वजनिक खरिद ऐन विपरीत मनलाग्दी ठेक्का दिएको क्यानले तेस्रो सिजनमा भने प्रक्रियागत रूपमै ठेक्का आह्वान गरेको थियो। क्यानले लाइभ फिड प्रोडक्सनदेखी ब्रोडकास्टिङ र स्ट्रिमिङ अधिकारको ठेक्का प्रक्रियामा मनलाग्दी दिएकोमा उकेराले पहिलो सिजनदेखि नै क्यानले आह्वान गरेको ठेक्का प्रक्रियामा प्रश्न उठाएको थियो। 

पहिलो र दोस्रो सिजनमा क्यानले ऐन विपरीत ७ दिनको मात्रै ठेक्का खुलाएको थियो। तर तेस्रो सिजनमा भने क्यानले पुरै ३५ दिने सूचना जारी गरेको थियो। त्यसमा पनि मिलेमतोको प्रयास नभएको हैन। तर उकेराको खुलासासँगै त्यो बाटो पनि बन्द भयो। 

प्रक्रिया अनुसार प्रतिस्पर्धाबाट ठेक्कादिँदा क्यानले तेस्रो सिजनको एनपिएलमा प्रसारण अधिकार, ओटिटी अधिकार र टिकेटिङ्ग अधिकारबाट मात्रै ३३ करोड ५८ लाख कमाएको थियो।

फाइनलको टिकेटमा क्यान-इसेवाको जालझेल  

तर नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो सिजनमा नदेखिएको टिकेटको समस्या तेस्रो सिजनको फाइनलमा देखियो। पहिलो र दोस्रो सिजनमा क्यानले टिकेटको जिम्मा वालेट कम्पनी खल्तीलाई दिएको थियो भने तेस्रो सिजनमा क्यानले इसेवालाई टिकेटिङ्गको जिम्मा दिएको थियो। 

लिग र क्वालिफायरको खेलमा टिकेटमा समस्या देखिएको थिएन। तर फाइनलको टिकट विक्री प्रणाली र प्रक्रिया विवादमा तानियो।

फाइनलमा क्यानले तोकेको समय अगावै इसेवाको एपमा टिकेट विक्री भइसकेको सन्देश आएको थियो। त्यसपछि क्रिकेट समर्थकले फाइनलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदानको मुख्य गेटमै गएर ईसेवा र क्यान विरुद्ध नाराबाजी गरेका थिए। 

शुक्रवार दिउसो १ बजेबाट सर्वसाधारणका लागि टिकट विक्री खुला गर्ने भनिए पनि तीन मिनेट अगाडि नै सबै टिकट विक्री भएको भन्दै ईसेवाले सूचना निकालेको थियो। जसमा क्रिकेट समर्थकले टिकेटमा कालोबजारी भएको भन्दै सामाजिक सञ्जालदेखि त्रिवि मैदानको गेटमै गएर विरोध गरेका थिए। 

त्यतिमात्रै नभएर क्यान र ईसेवाले टिकेटमा कालोबजारी गरेको भन्दै भन्दै सामाजिक सञ्जालमा विरोध गरेका थिए। एक बजे अगाडि नै सबै टिकट विक्री भएको इसेवाको स्क्रिनसट भाइरल भएको थियो।

त्यसमा क्यानले टिकट विक्रीमा कुनै अनियमितता नभएको दाबी गर्दै अत्याधिक मागका कारण सबैले टिकट किन्न नसकेको दाबी गर्यो। त्यसो हो भने टिकट किन्ने समय अगाडि नै सबै टिकट सकिएको भनेर इसेवाले किन मेसेज राखेको भन्ने पक्षमा भने क्यान मौन देखिएकोले क्यान र ईसेवाले टिकेटमा कालोबजारी गरेको क्रिकेट समर्थकको भनाई थियो। 

पार्किङ क्षेत्र, टिकट काउन्टरसँगै मैदान भित्र र बाहिरको भौतिक संरचनाबारे क्रिकेट हेर्न गएका दर्शकहरूले निरन्तर आलोचना गरिरहे। तर तीन सिजनको काण्डहरू हेर्ने हो तेस्रो सिजनमा क्यान कानुनी प्रक्रियामा सुध्रिएको देखियो।

मंसिर ६, २०८३ आइतबार २१:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।