विदेशमा सामान पठाउँदा घुस लिएको आरोपमा भन्सारका अधिकृत र सहयोगीविरुद्ध मुद्दा दायर

विदेशमा सामान पठाउँदा घुस लिएको आरोपमा भन्सारका अधिकृत र सहयोगीविरुद्ध मुद्दा दायर

काठमाडौं : कुरियरमार्फत विदेशमा सामान पठाउन घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा डिल्लीबजारका भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

भन्सार अधिकृत ईन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीले कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउन नौ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले कुरियर गरी विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरिएको उजुरी परेपछि आयोगबाट खटिएको टोलीले उनीहरू दुवै जनालाई घुस रकमसहित पक्राउ गरेको जानकारी दिए। 

न्यौपाने र पुडासैनीले पूर्व योजना र आपसी सहमतिमा वैदेशिक हुलाक शाखामार्फत सामान विदेश पठाउन विभिन्न बहाना देखाएर सेवाग्राहीसँग बार्गेनिङ गरेको आयोगले जनाएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ।

मंसिर ७, २०८३ सोमबार १७:१८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।