मधेसमा मुख्यमन्त्रीको दाबीका लागि एक दिन मात्र बाँकी, दलहरूबीच सहमति नजुट्दा सरकार गठन अन्योलमा
जनकपुरधाम : मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता साझेदारीको खाकामा ठोस सहमति नहुँदा राजनीतिक अन्योल बढेको छ। सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदा कसको नेतृत्वमा कस्तो गठबन्धन बन्ने भन्ने अझै टुङ्गो नलाग्दा अन्योल बढेको हो।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।
तर, दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे अझै सहमति जुट्न सकेको छैन। यहाँ कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ।
निर्धारित समयसीमा नजिकिँदै जाँदा पनि कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए।
“विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ,” उनले भने, “कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन। अझै केही समय बाँकी छ, हेरौँ केही सहमति हुन्छ कि!” नयाँ सरकार गठनका लागि आफूहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए।
मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकार गठनबारे निर्णय लिन नसक्दा पनि प्रक्रिया अन्योलमा परेको छ। एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको भए पनि जसपाले ठोस निर्णय गर्न नसकेको बताइरहेका छन्।
यसअघि पटक पटक सरकार परिवर्तन भएको भन्दै जसपा नेपालका नेताहरूले आगामी निर्वाचनको मुखमा प्रदेश सरकारको नेतृत्व लिन अनिच्छा देखाएको बताएका छन्। जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको बताए।
यसैबीच, केही दिनअघि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी मधेस प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए। कूल १०७ सदस्यीय मधेस प्रदेशसभामा जसपा नेपालका २८, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ जना प्रदेशसभा सदस्य छन्। त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना प्रदेशसभा सदस्य रहेका छन्।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि बहुदलीय सहकार्य अपरिहार्य देखिएको छ। तर, सत्ता नेतृत्वको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण अझै अनिश्चित छ।
एमाले र नेपाली कम्युनिष्ट पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए।
मंसिर ३, २०८३ बिहीबार १७:३२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।