कांग्रेस : चुनावमा पत्तासाफ भएको लुम्बिनीमा नेतृत्व हत्याउने कसरत !
बुटवल : नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति तय नगर्दै लुम्बिनी प्रदेशमा भावी नेतृत्वका लागि आकांक्षी नेताहरूले दौडधुप तीव्र पारेका छन्। वर्तमान सभापति अमरसिंह पुनले पुनः नेतृत्वमा नदोहोरिने घोषणा गरेसँगै आकांक्षी नेताहरूले आन्तरिक लबिङ तथा जिल्ला दौडाहा सुरु गरेका हुन्।
केन्द्रीय महामन्त्रीमा पराजित भएपछि प्रदेश नेतृत्व हस्तान्तरणको तयारीमा रहेका लुम्बिनीका सभापति पुनका अनुसार प्रदेश अधिवेशन मङ्सिर अन्तिम सातादेखि पुस पहिलो साताभित्र हुने सम्भावना छ। यद्यपि केन्द्रीय कार्यसमितिको बैठकपछि मात्र प्रदेश तथा जिल्ला अधिवेशनको कार्यतालिका तय हुने उनले बताए। तर, लुम्बिनीमा भने अधिवेशनको सरगर्मी बढी सकेको छ।
प्रदेश कार्यसमितिका पदाधिकारीहरू र पूर्व मन्त्रीसमेत नेतृत्वको दौडमा देखिएपछि कांग्रेस लुम्बिनीको आगामी नेतृत्व चयन रोचक हुने देखिएको छ। सभापतिका लागि मुख्यतः चार नेताको दाबी रहने देखिन्छ। उपसभापतिद्वय राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्री सुरेन्द्रराज आचार्य तथा प्रदेशसभा सदस्य वीरबहादुर रानाले सभापति पदको लागि आकांक्षा देखाएका छन्।
उनीहरू यतिबेला केन्द्रीय नेताहरूसँग परामर्श, जिल्ला तहका नेता-कार्यकर्तासँगको आन्तरिक भेटघाट तथा प्रदेश प्रतिनिधिको समर्थन जुटाउन दौडाहामा सक्रिय बनेका छन्।
सभापतिका आकांक्षीका आ-आफ्नै आधार
सभापतिका आकांक्षीमध्ये दाङका राजु खनाल र गुल्मीका भुवनप्रसाद श्रेष्ठ वर्तमान प्रदेश उपसभापति हुन्। दुवैले प्रदेश कार्यसमितिमा निर्वाह गरेको जिम्मेवारी र लामो राजनीतिक अनुभवलाई नेतृत्वको आधार बनाएका छन्।
प्रदेशसभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका खनालले उपसभापतिको जिम्मेवारी सम्हालिसकेकाले अब सभापति भएर संगठनको नेतृत्व गर्न चाहेको बताए। केन्द्रीय राजनीतिभन्दा प्रदेश संगठनलाई प्राथमिकता दिएर आफूले नेतृत्वको तयारी गरेको उनको भनाइ छ।
प्रदेशको राजनीतिक र सङ्गठनात्मक अवस्थालाई नजिकबाट बुझेको व्यक्तिले नेतृत्व गर्नुपर्ने धारणा राख्दै खनालले विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेको बताए। आफ्नो उम्मेदवारीबारे केन्द्रीय नेताहरूलाई समेत जानकारी गराइसकेको उनले सुनाए।
अर्का उपसभापति श्रेष्ठ पनि सभापति पदका लागि आफ्नो दाबी स्वाभाविक रहेको बताउँछन्। २०४८ सालदेखि निरन्तर महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीमा सक्रिय रहेको र वर्तमान कार्य समितिमा उपसभापतिसँगै प्रशिक्षण विभागको जिम्मेवारी सम्हालिरहेकाले नेतृत्वका लागि आफू योग्य रहेको उनको तर्क छ।
प्रदेशको सामाजिक तथा राजनीतिक विविधतालाई सङ्गठनात्मक कामसँग जोड्दै समावेशिता र पहिचानका मुद्दालाई प्राथमिकतामा राख्ने योजना उनले सुनाए। यसअघि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने पनि सफलता हात पार्न नसकेका उनी यस पटक पार्टी संगठनको नेतृत्वमा पुग्ने प्रयासमा छन्।
कपिलवस्तुका सुरेन्द्रराज आचार्य पनि सभापतिका बलिया आकांक्षीका रूपमा देखिएका छन्। उनी प्रदेश महामन्त्री हुनुका साथै कपिलवस्तु कांग्रेसको सभापतिका रूपमा दुई कार्यकाल काम गरिसकेका नेता हुन्। दुई पटक संघीय सांसद र दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका आचार्यले अब प्रदेश संगठनलाई बलियो बनाउने लक्ष्यसहित नेतृत्वको तयारी थालेका छन्।
जिल्ला तहको संगठन सञ्चालनको अनुभवलाई प्रदेशस्तरमा उपयोग गर्न चाहेको बताउँदै आचार्यले विभिन्न जिल्लाको भ्रमण गरेर संगठनको अवस्था बुझिरहेको बताए। प्रदेशका सबै जिल्लालाई समेटेर संगठन विस्तार र सुदृढीकरण गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ।
पाल्पाका वीरबहादुर राना पनि सभापति पदका आकांक्षी हुन्। दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भएका तथा प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका रानाले पार्टीभित्रको आवश्यकताअनुसार आफू अघि बढ्ने बताए। अन्य आकांक्षीहरूसँग छलफल गरेर उपयुक्त निर्णय लिने उनको भनाई छ।
महामन्त्रीमा आधा दर्जन आकांक्षी
सभापति पदसँगै प्रदेश कार्यसमितिका दुई महामन्त्री पदमा पनि नेताहरूले आकांक्षा व्यक्त गर्न थालेका छन्। वर्तमान प्रदेश कोषाध्यक्ष प्रकाश राना, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्युठानका विष्णु गिरी, अर्घाखाँचीका केशव श्रेष्ठ र बाँकेकी अञ्जना पाण्डेय महामन्त्रीका आकांक्षीका रूपमा देखिएका छन्।
रुपन्देहीका प्रकाश रानाले कोषाध्यक्षको जिम्मेवारीपछि महामन्त्रीका रूपमा संगठनमा काम गर्ने तयारी गरेका छन्। उनले अधिवेशनको लागि जिल्ला दौडाहालाई तीव्र पारेका छन्। रानाले गुल्मी र अर्घाखाँचीमा कार्यकर्ता तथा प्रतिनिधिसँग छलफल गरिसकेका छन्। सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको तयारी छ।
महामन्त्रीका अर्का दाबेदार दाङका विपुल पोखरेलले पनि प्रदेश प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट र टेलिफोन मार्फत संवाद बढाएको बताए। प्रतिनिधिहरूसँग संवाद गरेर समर्थन जुटाउने प्रयासमा आफू लागिपरेको उनले सुनाए। विष्णु गिरी, केशव श्रेष्ठ र अञ्जना पाण्डेयले पनि आन्तरिक छलफल तथा भेटघाटलाई अघि बढाएका छन्।
सर्वसम्मत नेतृत्व चयनको प्रयास
आकांक्षी नेताहरूले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहे पनि प्रदेश नेतृत्व सर्वसम्मत चयन गर्नेबारे पनि पार्टीभित्र छलफल चलाइरहेका छन्। सभापति पुनले गुटगत प्रतिस्पर्धाभन्दा सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको बताए।
"नयाँ सोच र युवाको ऊर्जा मात्र पर्याप्त हुँदैन, राजनीतिक अनुभव तथा जनतासँगको निरन्तर सम्बन्ध पनि नेतृत्वमा आवश्यक हुन्छ। निर्वाचनका बेला मात्रै गाउँ पुग्ने नभई सामान्य अवस्थामा पनि नागरिकका समस्या र अपेक्षासँग जोडिएर काम गर्ने नेतृत्व आउनुपर्छ," उनले भने।
महामन्त्रीका आकांक्षी प्रकाश राना र उपसभापति श्रेष्ठले पनि जिल्लागत प्रतिनिधित्व, भौगोलिक सन्तुलन र पार्टीमा गरेको योगदानलाई आधार बनाएर सहमतिबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिए।
कमजोर चुनावी नतिजा सुधार्ने चुनौती
विगतमा प्रभाव क्षेत्र मानिएको लुम्बिनीमा कमजोर बनेको राजनीतिक आधार पुनः स्थापित गर्नु कांग्रेसको नयाँ नेतृत्वका लागि प्रमुख चुनौती हो। त्यसैले यहाँको अधिवेशन कांग्रेसका लागि नेतृत्व चयन वा जिम्मेवारी हस्तान्तरणमा मात्र सीमित छैन।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये पाल्पा-१ बाट मात्रै जित निकालेपछि कांग्रेसको साङ्गठनिक अवस्था र चुनावी रणनीतिमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिन्छ।
अर्कोतर्फ, केन्द्रीय महाधिवेशनबाट लुम्बिनीले गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीकी पुष्पा भुसाल र नवलपरासीका विनोद चौधरीलाई केन्द्रीय उपसभापति पाएको छ भने दुई सहमहामन्त्रीसहित २६ जना केन्द्रीय सदस्य यही प्रदेशबाट निर्वाचित भएका छन्।
मंसिर ३, २०८३ बिहीबार १९:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।