ह्यारी केनको गोलीगाँठोको लिगामेन्ट च्यातियो, केही महिना मैदानबाहिरै रहने
एजेन्सी : इंग्ल्याण्डका कप्तान तथा बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन देब्रे गोलीगाँठोको लिगामेन्ट च्यातिएपछि आगामी केही महिना मैदानबाहिर रहने भएका छन्।
शुक्रबार बुन्डेसलिगाअन्तर्गत कोलोनसँग १-१ को बराबरीमा सकिएको खेलमा उनलाई यो चोट लागेको हो।
गत महिनामात्रै विश्वकै उत्कृष्ट खेलाडीको ‘बलोन डी’ओर’ अवार्ड जितेका ३३ वर्षीय केन खेलको २०औँ मिनेटमै घाइते भएका थिए। कोलोनका डिफेन्डर जोएल स्मिडको ट्याकलपछि उनलाई चोट लागेको हो।
सुरुमा खेल जारी राख्ने प्रयास गरे पनि नसकेपछि उनी खोच्याउँदै मैदानबाट बाहिरिएका थिए र उनको स्थानमा टम बिसोफ मैदान प्रवेश गरेका थिए।
बायर्न म्युनिखले एक विज्ञप्ति जारी गर्दै केनको देब्रे गोलीगाँठोको ‘सिन्डेस्मोटिक लिगामेन्ट’ च्यातिएको र त्यसकै कारण उनी आगामी केही महिना टोलीबाहिर रहने पुष्टि गरेको छ।
केन मैदानबाट बाहिरिँदा बायर्न कोलोनविरुद्ध १–० ले पछि परेको थियो। टोटनह्यामबाट लोनमा कोलोन आएका इंग्ल्याण्ड अन्डर–२१ का विङ्गर माइकी मूरले गोल गर्दै कोलोनलाई अग्रता दिलाएका थिए।
पछि बायर्नका नाथानियल ब्राउनले बराबरी गोल फर्काए। मस्तिष्क र मेरुदण्ड वरिपरिको सुरक्षात्मक झिल्ली सुन्निने समस्या (मेनिन्जियल इरिटेसन) का कारण पाँच खेलबाहिर रहेका कोम्पानीको पुनरागमन खेलमै बायर्नले अङ्क बाँड्नुपर्यो।
नेसन्स लिगको क्वार्टरफाइनलमा इंग्ल्याण्डको भिडन्त नर्वेसँग पक्का भएकै दिन केन घाइते भएका हुन्। क्वार्टरफाइनलका दुई लेग आगामी मार्च २७ र ३० मा हुने तालिका छ।
यही महिना क्रोएसिया र स्पेनविरुद्धको जितमा गोल गर्दै केनले इंग्ल्याण्डलाई नेसन्स लिग समूहको शीर्ष स्थानमा पुर्याएका थिए। सोही क्रममा उनले इंग्ल्याण्डको पुरुष टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमानसमेत बनाएका थिए।
जारी सिजनमा केन शानदार लयमा थिए। उनले लिगका १० खेलमा ४ गोल र ८ असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगका ४ खेलमा ४ गोल र ३ असिस्ट गरिसकेका छन्।
सन् २०२३ को अगस्टमा टोटनह्यामबाट जर्मनी गएयता केनको फिटनेस समग्रमा राम्रो रहे पनि उनलाई गोलीगाँठोको चोटले भने विगतदेखि नै सताउँदै आएको छ। सन् २०२४ को मार्चमा पनि अन्तर्राष्ट्रिय विश्रामअघि बायर्नबाट खेल्दा देब्रे गोलीगाँठोमा चोट लागेपछि उनले ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए।
त्यसअघि टोटनह्याममा रहँदा सन् २०१८-१९ को सिजनको दोस्रो हाफमा उनी दुईपटक लामो समय मैदानबाहिर रहे। त्यतिबेला देब्रे गोलीगाँठोको लिगामेन्ट र ‘ल्याटरल लिगामेन्ट’ चोटका कारण उनले क्रमशः ७ र ९ खेल गुमाएका थिए।
यस्तै, सन् २०१७-१८ मा दाहिने गोलीगाँठोको उस्तै चोटले उनी एक महिना बाहिर रहे भने २०१६-१७ को सिजनमा पनि ६ र ४ हप्ता गरी दुईपटक मैदानबाहिर बस्नुपरेको थियो।
मंसिर ५, २०८३ शनिबार ०८:२७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।