नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक बनेको आरोपमा यादवविरुद्ध मुद्दा दायर
काठमाडौं : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर शिक्षण पेसामा प्रवेश गरेको आरोपमा बाराका शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बाराको सुवर्ण गाउँपालिका- ६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझरियामा कार्यरत शिक्षक यादवविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको देखिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
उनले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको इन्टरमिडिएट (आईए) तहको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको देखिएको न्यौपानेले जानकारी दिए।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत यादवविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा कैद र जरिवानाको मागदाबी गरेको छ।
मंसिर ४, २०८३ शुक्रबार १५:४१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।