देशभरका सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच गर्न सरकारको आदेश

देशभरका सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच गर्न सरकारको आदेश

काठमाडौं : सरकारले देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका हुन्। 

बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको तिमल्सिनाले जानकारी दिए।

यस्तै सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋणसमेत स्वीकार गर्ने निर्णय गरेको छ।

यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६-२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको तिमल्सिनाले जानकारी दिए।

मंसिर ४, २०८३ शुक्रबार १४:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।