राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले मङ्सिर अन्तिम साता हुने पार्टीको केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरेर शाहीले व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि आफू अध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने बताएका हुन्।
पार्टीमा लामो समयदेखि नेतृत्व गर्दै आएका अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका शाहीले विचार र सिद्धान्त नमिल्ने दलहरूसँग पटक पटक चुनावी तालमेल र सत्ता समीकरण गर्दा राप्रपा कमजोर बनेको धारणा राखे। सत्ता र पदका लागि अन्य दलसँग सम्झौता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए।
“अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन, कसैको सत्ता प्राप्तिको सिँढी बन्ने छैन,” उनले भने, “राप्रपा आफ्नो विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा सशक्त राष्ट्रवादी शक्तिका रूपमा अगाडि बढ्नेछ।”
पार्टीभित्रको गुट र उपगुटको राजनीति अन्त्य गरी सबैलाई समेटेर आफू अघि बढ्ने भन्दै शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्ताव अघि सारे। पार्टीमा ‘सर्वोच्च नेता’ पद सिर्जना गर्ने प्रस्ताव गरिएको उल्लेख गर्दै उनले अध्यक्षभन्दा वरिष्ठ भूमिकामा रहने गरी शीर्ष नेताहरूलाई जिम्मेवारी दिन विधानमै व्यवस्था गरिने बताए।
अध्यक्ष पदमा आफ्नो उम्मेदवारी निश्चित भइसकेको उनले स्पष्ट पारे। पार्टीमा तीन वटा गुट रहेको भन्ने चर्चाबारे उनले आफ्नो एउटै गुट ‘राप्रपा मात्रै’ भएको बताए। आफू अध्यक्षको उम्मेदवार भए पनि अन्य नेताहरूले उम्मेदवारी दिएमा उनीहरूलाई समेत साथ र समर्थन रहने उनको भनाइ छ। मङ्सिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको राजनीतिक भविष्य र आगामी निर्वाचनको तयारीसँग जोड्नुपर्नेमा उनको जोड छ।
मंसिर ४, २०८३ शुक्रबार १५:११:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।