प्रधानमन्त्री वालेन्द्र भोलि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै, यस्तो छ तालिका
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह आगामी आइतबार भारतको दुई दिने राजकीय भ्रमणमा जाने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मङ्सिर ६ देखि ७ गतेसम्म भारत भ्रमणमा जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्। त्यस्तै, भारतका विदेशमन्त्री एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।
साझा सभ्यतागत नाता, सांस्कृतिक निकटता तथा जनस्तरको गहिरो सम्बन्धमा आधारित नेपाल र भारतबिचको लामो समयदेखिको सम्बन्धलाई यो भ्रमणले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा अग्रगामी दृष्टिकोणका साथ दुई देशबिचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै दुवै देशका जनताको पारस्परिक लाभलाई अधिकतम बनाउने विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री शाह मङ्सिर ७ गते सोमबार काठमाडौँ फर्किने कार्यक्रम छ।
मंसिर ४, २०८३ शुक्रबार १३:३१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।