प्रधानमन्त्रीको भारत भ्रमणअघि पाँच पूर्वपरराष्ट्रमन्त्रीले के सुझाव दिए?
काठमाडौं : पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘कनेक्टिभिटी’ लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
नेपाल-भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वास अभिवृद्धि गर्दै द्विपक्षीय हित हुने खालका सम्झौता गर्नुपर्नेमा उनीहरूले जोड दिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदै छन्।
यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको मुख्य चासो व्यापार घाटा भएकाले भ्रमणमा भारतसँगको व्यापार घाटा कम गर्ने उपाय तथा नेपालबाट हुने सेवा र वस्तुको निर्यात सहजीकरणलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
त्यसैगरी, सीमासम्बन्धी विषय तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मुद्दा पनि प्राथमिकतामा राख्न आवश्यक रहेको उनले उल्लेख गरे।
“नेपाल र भारतको सम्बन्ध विविधतामा आधारित छ, यो सम्बन्धलाई दीर्घकालीन विश्वासको सम्बन्धमा विकसित गराउनुपर्छ, त्यसमा पनि विशेष ध्यान दिनुपर्छ,” महतले भने, “भ्रमणलाई फलदायी बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन हुने गरी कार्यक्रमहरू अगाडि बढाउनुपर्छ।”
भारतको चासोलाई समेत मध्यनजर गर्दै नेपालको संवेदनशीलता र राष्ट्रिय हितअनुकूल हुने गरी आफ्ना विषय भारतसामु राख्नुपर्नेमा उनले जोड दिए।
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वास बलियो बनाउने कुरामा केन्द्रित हुनुपर्ने बताए।
“छिमेकीका जायज सरोकारहरू सुन्नुपर्छ र विश्वासको वातावरण निर्माण गर्नुपर्छ। त्यसैले यो भ्रमण मुख्य रूपमा विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ”, उनले भने।
नेपालका लागि थप हवाई रुटको विषय अत्यन्त महत्त्वपूर्ण रहेको र सन् २०१८ मै भारत भ्रमणका क्रममा नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा समझदारी भएको समेत ज्ञवालीले उल्लेख गरे। त्यसबाहेक जलविद्युत् आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
“नेपाल र भारत मिलेर आगामी दिनमा आर्थिक विकास तथा आर्थिक साझेदारीका क्षेत्रमा के-कस्ता काम गर्न सक्छौँ, कस्तो मूल्य शृङ्खला निर्माण गर्न सक्छौँ र कुन-कुन आयोजना अगाडि बढाउन सक्छौँ भन्ने विषयमा पनि खुलस्त छलफल हुनुपर्छ। त्यसो हुन सके मात्रै यो भ्रमणले वास्तविक अर्थ राख्छ”, उनले भने।
यसैगरी, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले विगतमा अगाडि बढाउन खोजिएका अधुरा काम पूरा गर्नेतर्फ भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिइन्। उनका अनुसार अहिलेका लागि महत्त्वपूर्ण विषय हवाईमार्ग नै हो।
नेपालले थप हवाईमार्ग प्राप्त गर्न सके दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै कोइरालाले भनिन्, “दुवै देशबिच थप हवाईमार्गमा सहमति भयो भने यसले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गर्छ, दुवै देशका नागरिकको आवतजावत बढ्छ, व्यापार विस्तार हुन्छ र दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्छ।”
नेपालले उठाएका माग र प्रस्तावमध्ये कुन-कुन विषय सम्भव छन् भन्नेबारे आपसी समझदारी कायम गरी सबै पक्षलाई बुझेर सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उनको भनाइ छ।
पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल-भारत सम्बन्धमा देखिएको तिक्ततालाई आपसी समझदारीसहित विश्वासमा बदल्नुपर्ने आवश्यकता औँल्याए।
“भ्रमणलाई फलदायी बनाउन दुवै देशको हितमा हुने गरी लगानी, विकास र व्यापारलाई प्राथमिकता दिनुपर्छ। यी तीनवटा क्षेत्रमा ध्यान दिन सकियो भने समृद्धिको दिशातर्फ अगाडि बढ्न सकिन्छ। यसका लागि पहिले परस्पर विश्वास र मित्रता आवश्यक छ”, उनले भने।
पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवाद समाधान गर्न तथा सुरक्षाका विषयमा एक-अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण गर्न जरुरी रहेको यादवले उल्लेख गरे।
दुई देशबीचको सीमामा नागरिकले भोग्नुपरेका समस्या समाधानमा पनि ध्यान दिन आवश्यक रहेको बताउँदै उनले थपे, “भारत भ्रमणका क्रममा नेपालमा जलस्रोतको विकास, बिजुलीको व्यापार पनि महत्त्वपूर्ण विषय हो, बङ्गलादेशमा विद्युत् निर्यातका लागि पनि भारतको साथ हामीलाई आवश्यक हुन्छ, त्यसमा पनि होसियारीका साथ अगाडि बढ्न आवश्यक छ।”
पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले भ्रमणका क्रममा राजनीतिक र जनताको दैनिकीसँग जोडिएका दुईवटा विषयलाई छुट्टाछुट्टै रूपमा हेरिनुपर्ने बताइन्।
“म भ्रमणको विषयलाई मुख्यतः दुई खेमामा विभाजन गर्छु। पहिलो, राजनीतिक प्रकृतिका विषय हुन्, जसमा धेरै गृहकार्य आवश्यक छ। त्यसका लागि सम्बन्धित समिति र निकायसँग आवश्यक तयारी गर्नुपर्छ। यस्ता विषयमा नेपालको धारणा स्पष्ट रूपमा राख्दै समाधानका लागि पहल गर्नुपर्छ,” उनले भनिन्, “दोस्रो, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय हुन्। यसमा व्यापार घाटाको विषय पनि पर्छ। बेला-बेलामा निर्यात रोकिदिने र त्यसले नेपालमा अभाव सिर्जना गर्ने अवस्था पनि देखिएको छ।”
हवाईमार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पौड्यालले विद्युत् व्यापार र ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्।
मंसिर ४, २०८३ शुक्रबार ११:५३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।