सर्लाहीमा युवतीको डेरामा अचेत भेटिएका एक युवकको शङ्कास्पद मृत्यु

सर्लाहीमा युवतीको डेरामा अचेत भेटिएका एक युवकको शङ्कास्पद मृत्यु

सर्लाही : जिल्लाको लालबन्दीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका-९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको बिहीबार साँझ मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार बिहीबार साँझ लालबन्दी नगरपालिका-५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको एक युवतीको डेरामा चौधरी अचेत अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ। मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले त्यही डेराकी युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।

मंसिर ४, २०८३ शुक्रबार १०:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।