निर्वाचन आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचन आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ।

तयारीस्वरूप आयोगले आज बिहान ११:३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनको तयारीबारे परामर्श गर्न दलका नेताहरूलाई आयोगमा आमन्त्रण गरिएको जानकारी दिए।

“स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नै उहाँहरूलाई बोलाइएको हो”, प्रवक्ता भट्टराईले भने।

आयोगका अनुसार आजको बैठकमा स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श गरिनेछ।

हाल प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। सोही कारण आयोगले नयाँ निर्वाचनको मिति सिफारिस र पूर्वतयारीका सन्दर्भमा गृहकार्य थालेको हो।

निर्वाचनको मिति, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझाव सङ्कलन गर्न छलफल आयोजना गरिएको आयोगले जनाएको छ।

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको परामर्शपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

मंसिर ४, २०८३ शुक्रबार ०८:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।