सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रूपमा सञ्चालन गर्न निर्देशन
काठमाडौं : काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक, आधारभूत र अनिवार्य सेवाका रूपमा सञ्चालन गर्न निर्देशन दिएकी छन्।
महानगरको सहरी योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदनबारे जानकारी लिँदै उनले शौचालयलाई स्वच्छ, सुरक्षित, व्यवस्थित, समावेशी र सबै नागरिकको पहुँचयोग्य बनाउने कार्यलाई प्राथमिकता दिन निर्देशन दिएकी हुन्।
आयोगले गत भदौ ३ गतेदेखि महानगरभित्रका १६९ वटा सार्वजनिक शौचालयको अवस्थाबारे अध्ययन गरेको थियो।
आयोगका सदस्य दामोदर गिरीका अनुसार तीमध्ये ११३ वटा नियमित सञ्चालनमा छन् भने ९ वटा आंशिक सञ्चालन, १० निर्माणाधीन, १४ बन्द र २ वटा प्रयोग गर्न अयोग्य अवस्थामा छन्। बाँकी २१ शौचालयको सञ्चालन अवस्था भने स्पष्ट छैन।
अध्ययनले सङ्ख्या थप्नुभन्दा विद्यमान शौचालयको मर्मत, स्तरोन्नति र पुनःनिर्माण गरी पानी, सरसफाइ तथा अपाङ्गतामैत्री बनाउन र नयाँ निर्माणका लागि पहुँच, पानी तथा ढल निकासलाई आधार मान्न सुझाएको छ।
सो अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले पेट्रोल पम्पहरूले सञ्चालन गरेका शौचालयको स्वच्छता बढेकोमा आभार व्यक्त गर्दै सबै शौचालयलाई महिलामैत्री, बालमैत्री र पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिइन्।
आयोगको सुझावलाई तत्काल, मध्यकाल र दीर्घकालीन कार्ययोजनामा विभाजन गरी महानगरले सुधारको काम थालेको छ।
मंसिर ४, २०८३ शुक्रबार ०९:०७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।