मकवानपुरमा कारको डिकीबाट करिब ११८ किलो गाँजा बरामद, चालक फरार
मकवानपुर : मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित चेकपोस्टबाट प्रहरीले करिब ११८ किलो लागुऔषध गाँजा बरामद गरेको छ।
नियमित सवारी जाँचका क्रममा कारको डिकीभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा ११७ किलो ९१० ग्राम गाँजा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको 'बि ए बि' ४४३१ नम्बरको कारलाई सुरक्षाकर्मीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा चालकले कारको डिकीमा केही नभएको भन्दै भागेका थिए।
चालक भागेपछि प्रहरीले शङ्कास्पद रूपमा डिकी खोलेर हेर्दा साना–ठूला गरी ९ वटा पोकामा प्याक गरिएको गाँजा फेला पारेको थियो। बरामद गाँजा ११७ किलो ९१० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।
फरार भएका कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यसबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
मंसिर ३, २०८३ बिहीबार १२:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।