बालेनको भारत भ्रमणअघि प्रचण्ड- ‘उहाँ धेरै छलफल गर्ने खाले पर्नुभएन’
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
रुस भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गर्ने स्वभावको नदेखिएको टिप्पणी गरे।
भ्रमणबारे सोधिएको प्रश्नमा प्रचण्डले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरे।
“अहिले उहाँको भ्रमण मलाई थाहा छैन। किनभने उहाँ त्यति धेरै छलफल गर्ने, पूर्वप्रधानमन्त्रीहरूका नि केही अनुभव छन् कि भन्ने खाले पर्नुभएन,” उनले भने, “उहाँले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा त नेपाली जनता र तपाईँहरूले नि हेरिराख्नुभएकै छ।”
यद्यपि, भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्न उनले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदा भारतसँग अघि बढाएका महत्त्वपूर्ण काम र समझदारीहरूलाई वर्तमान सरकारले निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ छ।
“नेपाल-भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे जति कामहरू अगाडि बढाएको थिएँ, मैले त चाहन्छु ती कामहरूलाई उहाँले फत्ते गर्दिनुस्”, प्रचण्डले भने।
विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजना करिब-करिब हस्ताक्षर हुने चरणमा पुगेको स्मरण गर्दै उनले त्यसलाई टुङ्ग्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक सहमति हुने उल्लेख गरे।
प्रचण्डले पञ्चेश्वर परियोजनासँगै त्रिदेशीय विद्युत् व्यापारसम्बन्धी सहमति तथा कृषिको विकासका लागि भएका समझदारीहरूलाई पनि अगाडि बढाउन आग्रह गरे।
“विद्युत् व्यापारसँग सम्बन्धित त्रिदेशीय सहमति जहाँ पुगेको छ, त्यसलाई पनि र कृषिको विकासका निम्ति भएका सहमति–समझदारीहरू अगाडि जाउन् भन्ने म चाहन्छु”, उनले थपे।
सरकारप्रतिको आफ्नो पार्टीको दृष्टिकोण स्पष्ट पार्दै उनले राम्रो काममा साथ र गलत काममा आलोचना हुने बताए। संसद्मा पहिलो पटक बोल्दा नै आफूले ‘राम्रो गर्नुस्, हाम्रो सहयोग हुन्छ’ भनेको स्मरण गर्दै उनले अहिले पनि राम्रो काममा साथ रहने प्रतिबद्धता दोहोर्याए।
स्वदेश फर्कने क्रममा दुबईबाट गृहमन्त्रीसँग सँगै यात्रा भएको र त्यहाँ पनि राम्रो कुराकानी भएको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले भने, “राम्रो गर्दा हाम्रो साथ हुन्छ, नराम्रो गर्दा आलोचना हुन्छ।”
मंसिर ३, २०८३ बिहीबार ११:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।