‘न्यु थ्री’ उद्योगको फोहोर व्यवस्थापन गर्न चीनले ल्यायो १६ बुँदे योजना
एजेन्सी : चीनले ‘नयाँ तीन’ (न्यु थ्री) अर्थात् विद्युतीय सवारीसाधन, लिथियम-आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनबाट निस्कने ठोस फोहोरको पुनः प्रयोग तथा व्यवस्थापनका लागि योजना अघि सारेको छ।
नौ सरकारी विभागले जारी गरेको नयाँ निर्देशिकामा यी तीन क्षेत्रको संकलन, व्यवस्थापन र विघटन प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिँदै समग्र योजना अघि सारिएको हो।
निर्देशिकाले विशेषगरी विद्युतीय सवारीसाधनका पावर ब्याट्री व्यवस्थापनमा देखिएका कमजोरी हटाउने र फोटोभोल्टिक उपकरणको पुनः प्रयोग तथा उपयोग प्रणाली सुधार गर्ने लक्ष्य लिएको छ।
उत्पादनदेखि पुनः प्रयोगसम्मको सम्पूर्ण प्रक्रियालाई प्रभावकारी बनाउन डिजाइन, निर्माण, प्रयोग, संकलन, व्यवस्थापन, विघटन र पुनः प्रयोगसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित र सहज बनाउनेमा जोड दिइएको छ।
चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार स्रोतहरूको पुनः प्रयोग प्रणाली विकासका लागि निर्देशिकामा १६ वटा प्रमुख कार्य समेटिएका छन्। यसअन्तर्गत स्थानीय अवस्थाअनुसार विभिन्न पुनः प्रयोग मोडल छनोट तथा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै विभिन्न नवीकरणीय स्रोत, ठूला तथा पुराना फर्निचर र प्रयोगविहीन घरेलु विद्युतीय उपकरणको व्यवस्थापनलाई समेत समेटिएको छ।
निर्देशिकामा नवीकरणीय स्रोतको पुनः प्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाई उद्योगको उच्च गुणस्तरीय विकास प्रवर्द्धनलाई उच्च महत्व दिइएको छ। यस कदममार्फत स्रोतसाधनको दिगो उपयोग र फोहोर व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य चीनले राखेको छ।
मंसिर १, २०८३ मंगलबार २१:३९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।