दिल्लीको विवेक विहारमा घर भत्किँदा तीन वर्षीय बालकसहित दुई जनाको मृत्यु
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदराको विवेक विहार क्षेत्रमा मंगलबार बिहान घर भत्किँदा तीन वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी सोही घरमा भाडामा बस्दै आएका चार जना घाइते भएका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
मृत्यु हुनेमा तीन वर्षीय बालक र भवनको भुइँतलामा बस्दै आएका ३० वर्षीय पिन्टु रहेका छन्।
एडीओ दीपक हुड्डाका अनुसार भुइँतला र पहिलो तला रहेको उक्त घर मङ्गलबार बिहान भत्किएको हो। अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। क्याट एम्बुलेन्सको सहयोगमा भग्नावशेषमुनि च्यापिएका सबै छ जनाको उद्धार गरी उपचारका लागि हेडगेवार अस्पताल पठाइएको छ।"
दिल्लीमा पछिल्लो समय भवन भत्किने घटनाहरू बढिरहेका बेला यो दुर्घटना भएको हो। केही दिनअघि मात्रै पहाडगञ्ज क्षेत्रमा निर्माणाधीन भवन भत्किँदा करिब आठ जना मजदुर घाइते भएका थिए। उक्त घटनामा निर्माण सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको र प्रदूषण नियन्त्रणका उपायअन्तर्गत शहरमा बाहिरी निर्माण कार्यमा प्रतिबन्ध जारी रहेकै अवस्थामा निर्माण कार्य गरेको आरोपमा दिल्ली प्रहरीले सोमबार एक घरधनी र एक ठेकेदारलाई पक्राउ गरेको थियो।
पुरानो दिल्लीको चावडी बजारमा भवन भत्किँदा सात जनाको मृत्यु भएको एक हप्ताभन्दा बढी समयपछि यी पछिल्ला घटनाहरू भएका हुन्।
यसअघि यही वर्षको सेप्टेम्बरमा दक्षिण दिल्लीको सत्य निकेतनमा 'पेइङ गेस्ट' (छात्रावास) का रूपमा प्रयोग हुँदै आएको छ तले भवन भत्किँदा पाँच विद्यार्थीसहित सात जनाको ज्यान गएको थियो। अनुसन्धानका क्रममा उक्त पुरानो संरचनालाई कुनै पनि स्वीकृत नक्साबिना नै गैरकानुनी रूपमा पाँच तलासम्म विस्तार गरिएको पाइएको थियो।
मंसिर १, २०८३ मंगलबार १४:०४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।