‘आमा बुबाको काखमा बस्नुहुन्थ्यो’ भन्ने अभिव्यक्तिमा भाजपाले खिल्ली उडाएपछि राहुल गान्धीले सेयर गरे शिव–पार्वतीको तस्बिर
एजेन्सी : भारतीय लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले आफ्ना आमाबुबा सोनिया गान्धी र राजीव गान्धीबीचको प्रेम र स्नेहबारे दिएको अभिव्यक्तिमाथि भारतीय जनता पार्टी (भाजपा) ले आलोचना गरेपछि मङ्गलबार सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्।
सामाजिक सञ्जाल 'एक्स' मा भगवान् शिव र देवी पार्वती प्रेमपूर्वक अँगालोमा बाँधिएको तस्बिर सेयर गर्दै गान्धीले भाजपा र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का समर्थकहरूको हृदय घृणाले भरिएको र उनीहरूले प्रेमको अनुभव गर्न नसक्ने बताएका छन्।
गान्धीले डर, क्रोध र घृणाले भाजपा र आरएसएस समर्थकहरूलाई प्रेम महसुस गर्न र व्यक्त गर्न असमर्थ रहेको उल्लेख गरे।
गान्धीले एक्समा लेखेका छन्, "डर, क्रोध र घृणाले भाजपा र आरएसएस समर्थकहरूको हृदयमा एउटा यस्तो जालो बुनेको छ जसले उनीहरूलाई प्रेमको अनुभव गर्न र व्यक्त गर्नबाट रोक्छ। एक सच्चा हिन्दुको नाताले उनीहरूलाई यो जालोबाट मुक्त गर्नु मेरो कर्तव्य हो, ताकि उनीहरूले पनि आफ्नो जीवनमा प्रेम र अपनत्वको अद्भुत सुन्दरता र आनन्द महसुस गर्न सकून्।"
गान्धीले आफ्नो पोस्टको अन्त्यमा 'सत्यम् शिवम् सुन्दरम्' लेखेका छन्।
राहुलको यो प्रतिक्रिया भाजपा नेताहरूले उनका आमाबुबाको सम्बन्धबारे दिएको अभिव्यक्तिको आलोचना गरेपछि आएको हो। सोमबार साँझ राजधानी नयाँदिल्लीमा हार्पर कोलिन्स इन्डियाद्वारा प्रकाशित सोनिया गान्धीको संस्मरण 'बिलङ्गिङ: अ जर्नी अफ लभ' को आधिकारिक विमोचन समारोहमा राहुलले आफ्नो बाल्यकालको सम्झना सुनाएका थिए ।
उनले परिवारसँगै खाना खाने क्रममा आफ्ना बुबा राजीव गान्धीको काखमा आमा सोनिया गान्धी बस्ने गरेको स्मरण गरेका थिए।
“त्यतिबेला त्यहाँ बुबा हुनुहुन्थ्यो र बुबाको काखमा आमा हुनुहुन्थ्यो,” राहुलले भनेका थिए।
आफूले बाल्यकालमा आमाबुबाबीचको यस्तो सम्बन्धलाई सामान्य ठानेको उल्लेख गर्दै उनले साथीहरूको घरमा जाँदा भने त्यस्तो दृश्य नदेखेको बताएका थिए।
“मलाई त यो सामान्य कुरा हो जस्तो लाग्थ्यो। त्यसैले म जब आफ्ना साथीहरूको घरमा जान्थेँ, त्यहाँ उनीहरूका आमाबुबा एकअर्काको काखमा बसेको देख्दिनथेँ। अनि म साथीलाई सोध्थेँ, के भइरहेको छ? तिम्रो आमा तिम्रो बुबाको काखमा किन नबस्नुभएको?”
आफ्नो हुर्काइबारे बताउँदै राहुलले थपेका थिए, “हामी यही वातावरणमा हुर्किएका हौँ।”
आफ्ना आमाबुबाबीचको सम्बन्धबारे उनले भनेका थिए, “उहाँ मेरो बुबाको हुनुहुन्थ्यो र मेरा बुबा उहाँको हुनुहुन्थ्यो।”
कार्यक्रममा उनले आमालाई सम्बोधन गर्दै भनेका थिए, “आमा, बुबाले तपाईंलाई प्रेम गर्नुहुन्थ्यो। तर उहाँ तपाईंप्रति कति गर्व गर्नुहुन्थ्यो भन्ने कुरा म तपाईंलाई शब्दमा व्यक्त गर्न पनि सक्दिनँ।”
राहुलको उक्त अभिव्यक्तिलाई लिएर असमका मुख्यमन्त्री तथा भाजपा नेता हिमन्त विश्व शर्माले व्यङ्ग्य गरेका थिए। उनले राहुलको अभिव्यक्तिको भिडियो एक्समा साझा गर्दै लेखेका थिए, “माफ गर्नुहोला, म्याडम। तपाईंको जीवनको यस्तो विशेष दिनमा पनि उहाँले तपाईंलाई तपाईंलाई लज्जित हुनबाट जोगाउन सकेनन्। देशले यो कुरा धेरै पहिले नै बुझिसकेको थियो । आशा छ अब तपाईंले पनि देख्नुहुनेछ; यो 'प्रोडक्ट' लन्च र रिलन्चभन्दा बाहिर गइसकेको छ।"
मंसिर १, २०८३ मंगलबार १७:४८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।