अमेरिकी कम्प्युटिङ चिपमा चीनको पहुँच रोक्न ट्रम्प प्रशासनद्वारा नयाँ निर्यात नियम लागू
एजेन्सी : अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ निर्यात नियन्त्रण नियम लागू गरेको छ।
निर्यात नियन्त्रण नियमअनुसार चीनलगायत प्रतिबन्धित देशका कम्पनीलाई सेवा दिने विदेशी डाटा सेन्टरले अन्तिम प्रयोगकर्ताको पहिचान खुलाउनुपर्नेछ।
नयाँ नियमले इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र ब्राजिलमा चिप बिक्री गर्दा थप इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। अमेरिकी प्रशासनले क्लाउड कम्प्युटिङमार्फत अमेरिकी प्रविधि प्रयोग गर्ने सम्भावित कमजोरी नियन्त्रण गर्न यो कदम चालेको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी कदमको आलोचना गर्दै यसले चीनको प्राविधिक विकास र विश्वव्यापी आपूर्ति शृङ्खलामा असर पार्ने बताए। चीनले आफ्नो हित र अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने उनले जनाए।
यसैबीच, अमेरिकी चिप निर्माता एनभिडियाका चिप चीन पुर्याएको आशङ्कामा मेगास्पिड इन्टरनेसनलमाथि अमेरिका, सिङ्गापुर र मलेसियामा अनुसन्धान भइरहेको छ।
अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२४ मै अनुसन्धान सुरु गरेको थियो भने न्याय मन्त्रालयले कम्पनीमाथिको आपराधिक अनुसन्धान अघि बढाएको छ। मलेसियाले पनि आफ्नो देशमा भित्रिएका चिप अन्य मुलुकमा पुनः निर्यात भए-नभएको छानबिन गरिरहेको जनाएको छ।
मंसिर १, २०८३ मंगलबार १५:५३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।