शक्तिशाली एल निनोका कारण विश्वभर आगलागी, खडेरी र भोकमरीको जोखिम बढ्दै

शक्तिशाली एल निनोका कारण विश्वभर आगलागी, खडेरी र भोकमरीको जोखिम बढ्दै

एजेन्सी : यस वर्ष विकसित शक्तिशाली 'एल निनो'का कारण विश्वभर जलवायुजन्य विपद् र खाद्य असुरक्षाको जोखिम बढ्ने चेतावनी संयुक्त राष्ट्रसङ्घका निकाय तथा मौसमविद्हरूले दिएका छन्।

मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्दा उत्पन्न हुने यस मौसमी प्रणालीका कारण ब्राजिल र इन्डोनेसियाका जङ्गलमा भीषण डढेलो लागेको छ भने पश्चिम अफ्रिकाको कृषि उत्पादन घट्ने जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घका निकाय र मौसमविद्हरूका अनुसार डिसेम्बरमा उच्च विन्दुमा पुग्ने यो एल निनोको असर सन् २०२७ सम्म लम्बिन सक्छ।

एल निनोका कारण विश्वव्यापी वर्षा, हावा र तापक्रमको ढाँचामा परिवर्तन आउँछ। 

ब्राजिलको पारा राज्यमा नोभेम्बरको सुरुदेखि पाँच हजारभन्दा बढी डढेलोका घटना भएका छन्। गम्भीर खडेरी र आगलागीका कारण राज्यले आपत्काल घोषणा गरेको छ। आगलागी नियन्त्रण गर्न अमेजन क्षेत्रमा वनस्पति तथा जमिन सफा गर्न आगो लगाउन प्रतिबन्धसमेत लगाइएको छ। यसअघि पेरुले पनि एल निनोसम्बन्धी बाढी र पहिरोको जोखिमका कारण आपत्काल घोषणा गरेको थियो।

पश्चिम अफ्रिकाको प्रमुख कोको उत्पादक आइभोरी कोस्टमा यस वर्ष उत्पादन २१ देखि २५ प्रतिशतसम्म घट्न सक्ने मौसमविद्हरूले अनुमान गरेका छन्। वर्षामा १० देखि २७ प्रतिशतसम्म कमी र लामो सुक्खा मौसमका कारण कोकोका फल समयअगावै सुक्ने तथा रूखका पात झर्ने जोखिम छ। यसले किसानको आम्दानी र मुलुकको निर्यात राजस्वमा असर पार्नेछ।

यसैगरी, इन्डोनेसियामा यस वर्ष लागेको डढेलोमा एल निनोको प्रमुख भूमिका रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जुलाईदेखि अक्टोबरसम्म दक्षिणपूर्वी एसियामा भएको वर्षाको कमीका लागि एल निनो जिम्मेवार रहेको र जलवायु परिवर्तनले यस्तो अवस्था सिर्जना हुने सम्भावना तथा तीव्रता झन्डै तीन गुणा बढाएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। वन विनाश, दलदली जमिनको दोहन र खानी गतिविधिले पनि आगलागी बढाएको बताइएको छ। सन् २०२६ मा इन्डोनेसियामा हालसम्म करिब २९ लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको नुसानतारा एटलसले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रमुख अलेक्जान्डर डे क्रूका अनुसार एल निनोको प्रभाव न्यूनीकरण गर्न अहिले नै कदम चाल्दा करिब ३६ अर्ब अमेरिकी डलर खर्च हुनेछ। ढिलाइ गरेमा यो लागत बढेर ७३ अर्ब डलर पुग्न सक्छ। उनले समयमै काम नगर्नु जलवायु नीतिको सबैभन्दा महँगो विकल्प हुने बताएका छन्। 

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एल निनोका कारण खडेरी र बाढीबाट खाद्य असुरक्षा थप बढ्ने चेतावनी दिएको छ। जोखिममा रहेका २२ मुलुकमध्ये आधाभन्दा बढी अफ्रिकामा छन् भने अन्य एसिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा रहेका छन्।

एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले द्वन्द्व, आर्थिक सङ्कट, उच्च ऋण र कृषि सामग्रीको अभाव झेलिरहेका मुलुकमा एल निनोले खाद्य प्रणाली थप कमजोर बनाउने बताएका छन्। उनले खाद्यान्न उत्पादन मात्र नभई सर्वसाधारणको खाद्यान्नमा पहुँचसमेत प्रभावित हुन सक्ने भएकाले बाली, पशुधन र जलस्रोतको संरक्षणका लागि समयमै तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

मंसिर १, २०८३ मंगलबार १३:५२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।