सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

काठमाडौं : साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोशन डिक्वेलाले ब्याटिङ र विकेटकिपिङ दुवैमा सानदार प्रदर्शन गरे।

उनले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए। ३७ बलको सामना गरेका डिक्वेलाले ७ चौका र २ छक्का प्रहार गरे। उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात पनि सुखद थिएन। ०.३ ओभरमा ओपनर डार्सी सर्ट शून्यमा आउट भए भने आसिफ शेख ४ रनमा पेभिलियन फर्किए।

तर, डिक्वेलाले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। रोहित २८ बलमा २१ रन बनाएर आउट भए भने सन्दीप जोरा ८ रनमा पेभिलियन फर्किए।

त्यसपछि दिलीप नाथले १२ बलमा १ छक्कासहित अविजित १० रन जोड्दै डिक्वेलासँग मिलेर टोलीलाई जितसम्म पुर्याए।

सुदूरपश्चिमका बलर थारिन्दु रत्नायकेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यस्तै, हेमन्त धामी र स्कट कुगेलेइनले १-१ विकेट हात पारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमात्र बनाएको थियो।

पावरप्लेमै २० रन जोड्दा ३ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए।

दीपेन्द्रले ५१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए भने इशानले २७ रनको योगदान दिए। सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अङ्कमा रन छुन सकेनन्।

लुम्बिनीका बलरहरू रुबेन ट्रम्पलम्यानले १४ रन र शेर मल्लले २७ रन खर्चेर समान २-२ विकेट लिए।

यस्तै, अभिषेश गौतमले ४ ओभरमा ११ रन र किशोर महतोले १९ रन दिएर १-१ विकेट झारे। विकेटपछाडि डिक्वेलाले २ क्याच र २ रनआउटमा सहभागिता जनाएका थिए।

यो हारपछि पनि सुदूरपश्चिमको फाइनल पुग्ने बाटो भने बन्द भएको छैन। सुदूरपश्चिमले अब फाइनल प्रवेशका लागि बुधबार हुने काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।

मंसिर १, २०८३ मंगलबार २०:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।