रोनाल्डोकी आमाको आलोचनाप्रति पोर्चुगलका प्रशिक्षकले भने - ‘अब रोनाल्डोकी आमाको प्रश्नको पनि जवाफ दिनुपर्ने?’

रोनाल्डोकी आमाको आलोचनाप्रति पोर्चुगलका प्रशिक्षकले भने - ‘अब रोनाल्डोकी आमाको प्रश्नको पनि जवाफ दिनुपर्ने?’

एजेन्सी : फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेस एभेइराले पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेससले आफ्ना छोरालाई धोका दिएको आरोप  लगाएपछि प्रशिक्षक जिससले प्रतिक्रिया दिएका छन्।

मंगलबार वेल्सविरुद्ध हुने नेसन्स लिगको समूह चरणको अन्तिम खेलअघि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले रोनाल्डोकी आमाको टिप्पणीबारे प्रश्न गरेपछि प्रशिक्षक जेससले उनका टिप्पणीबारे पनि जवाफ दिनुपर्ने हो भन्दै प्रतिप्रश्न गरे। 

उनले भने, “अब मैले क्रिस्टियानो रोनाल्डोकी आमाको प्रश्नको पनि जवाफ दिनुपर्ने? यो कहिले रोकिने हो, मलाई थाहा छैन। यदि तपाईंहरू प्रश्न सोध्नुहुन्छ भने मैले जवाफ दिनुपर्छ। अर्को वर्ष पनि रोनाल्डोबारे प्रश्न सोध्नुभयो भने म जवाफ दिनेछु।”

रोनाल्डोले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि जेसस र उनीबीचको सम्बन्धमा देखिएको तनाव अझै कायम छ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित भएको थियो। जेससले प्रशिक्षण सम्हालेयता पोर्चुगलले बेहोरेको यो पहिलो हार हो। 

उक्त हारपछि रोनाल्डोकी आमा एभेइराले जेससको पहिलो हार देख्दा आफू खुसी भएको बताएकी थिइन्। उनले पूर्व बेन्फिका प्रशिक्षकले आफ्ना छोरालाई ‘धोका’ दिएको आरोपसमेत लगाएकी थिइन्।

सोमबार एक कार्यक्रममा सहभागी भएकी एभेइरालाई रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासबारे सोधेको प्रश्नमा उनले भनेकी थिइन्, "निश्चय नै ऊ दुःखी थियो। उनीहरूले उसलाई धोका दिए। म पनि दुःखी छु। डेनमार्कसँगको हार जायज थियो। वास्तवमा म त्यो हारबाट खुसी थिएँ।"

साउदी क्लब अल-नासरमा समेत रोनाल्डोका प्रशिक्षक रहिसकेका जेसससँगको मनमुटावपछि नै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय गरेका थिए। सेप्टेम्बरमा नर्वेविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नगराई वार्म-अप मात्र गर्न लगाइएपछि म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका पूर्व स्टार रोनाल्डोले जेससमाथि वाचा तोडेको आरोप लगाएका थिए।

त्यसपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए, जसका कारण उनलाई ३० दिनको निलम्बन र सांकेतिक जरिवाना गरिएको थियो। पछि उनले आफ्नो व्यवहारप्रति माफी मागेपछि पोर्चुगिज टोलीमा फर्कने अपेक्षा गरिएको थियो, तर त्यसको सट्टा उनले आफ्नो २३ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा पूर्णविराम लगाए।

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेलेका छन् भने १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा यी दुवै कीर्तिमान हुन्।

पछिल्ला केही ठूला प्रतियोगितामा प्रतिभाशाली खेलाडीले भरिएको पोर्चुगल टोलीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसक्नुमा रोनाल्डोको मैदानमा खेल्ने गतिशीलता र चलायमान क्षमतामा आएको कमीलाई पनि एउटा कारणका रूपमा औँल्याइँदै आएको थियो।

जेससको प्रशिक्षणमा पोर्चुगलले डेनमार्कसँगको हारअघि लगातार चार खेल जित्दै उत्कृष्ट सुरुवात गरेको थियो। तर, शनिबार डेनमार्कसँग अप्रत्याशित रूपमा पराजित भएपछि टोलीमाथि दबाब बढेको छ।

जेससले सञ्चारमाध्यमले टोलीको प्रदर्शन र आगामी खेलको जितभन्दा पनि व्यक्तिगत खेलाडीबारे बढी प्रश्न गरिरहेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, “डेनमार्कविरुद्धको खेलपछि सबैले मलाई विभिन्न व्यक्तिबारे प्रश्न गरिरहेका छन्, यहाँको खेल जित्ने वा टोलीबारे होइन। हामीले एउटा खराब खेल खेल्यौँ र यस्तो नतिजापछि त्यसबाट बाहिर निस्कन कठिन हुन्छ। तर, हामी खेल जित्ने प्रयास गर्नेछौँ।”

नेसन्स लिगको समूह 'ए-फोर' मा शीर्ष स्थान सुरक्षित गर्न पोर्चुगललाई वेल्सविरुद्धको खेलमा एक अंक मात्रै आवश्यक छ। समूहको पुछारमा रहने निश्चित भइसकेको वेल्ससँग पोर्चुगलले कार्डिफमा प्रतिस्पर्धा गर्दैछ।

यसैबीच, वेल्सका प्रशिक्षक क्रेग बेलामीले पनि रोनाल्डोको अन्तर्राष्ट्रिय सन्न्यासबारे प्रतिक्रिया दिएका छन्।

उनले पोर्चुगिज सञ्चारमाध्यमसँग भने, “तपाईंहरू सबैले उनी खेलिरहेका बेला उनलाई खेलाएको भन्दै आलोचना गरिरहनुभएको थियो र उनले सन्न्यास लिनेबित्तिकै अचानक सबैले ठूलो कोलाहल मच्चाउन थाल्नुभयो!”

बेलामीले रोनाल्डोको प्रशंसा गर्दै थपे, “उनी अहिलेसम्म फुटबल खेलेका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। हामी सबैले उनलाई मिस गर्नेछौँ।”

मंसिर १, २०८३ मंगलबार १५:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।