एनपिएल क्वालिफायर-१ : लुम्बिनीले टस जित्यो; सन्दीप, अभिषेश र इशान खेलपछि मात्र कतार जाने
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही बेरअघि भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जित्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङको निम्तो दिएका हुन्।
साबिक विजेता लुम्बिनी लिग चरणको शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा भिड्न लागेका हुन्। आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
यसैबीच, कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’का लागि नेपाली टोलीमा छानिएका लुम्बिनीका सन्दीप जोरा र अभिषेश गौतम तथा सुदूरपश्चिमका इशान पाण्डे आज टोलीसँगै कतार प्रस्थान गरेका छैनन्।
महत्त्वपूर्ण क्वालिफायर खेलका कारण रोकिएका उनीहरूलाई आजको खेल सकिएपछि मात्र कतार पठाइने भएको छ। तीनै जना खेलाडी आजको प्लेइङ-११ मा समेटिएका छन्।
दुवै टोलीको प्लेइङ-११ :
लुम्बिनी लायन्स : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिषेश गौतम, दिलीप नाथ, किशोर महतो, क्रिस्टियन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्सी सर्ट र अली शेख।
सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहरा, अनिल खरेल, जर्ज मुन्सी, स्कट कुगेलेइन, थानुका मदुशन डबारे र थारिन्दु रत्नायके।
मंसिर १, २०८३ मंगलबार १६:४७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।