फाइनल पुग्न लुम्बिनीलाई १०६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि साबिक विजेता लुम्बिनी लायन्सले १०६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमात्र बनायो।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।
सुदूरपश्चिमको सुरुवात निकै कमजोर रह्यो। इनिङ्सको पहिलो बलमै ओपनर जर्ज मुन्सी शून्यमा आउट भए भने ३.१ ओभरमा टोलीले मात्र ८ रन जोड्दा शीर्ष ३ विकेट गुमाइसकेको थियो।
अर्का ओपनर थानुका डबारे र विकेटकिपर विनोद भण्डारी समान ३/३ रनमा पेभिलियन फर्किए। पावरप्लेको ६ ओभरमा सुदूरपश्चिमले मात्र २० रन जोडेर ३ विकेट गुमाएको थियो।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकास्ने प्रयास गरे।
दीपेन्द्रले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन जोडे। उनले ४५ बलमा अर्धशतक पूरा गरेका थिए। इशानले ३३ बलमा ३ चौकासहित २७ रनको योगदान दिए।
सुदूरपश्चिमका लागि दीपेन्द्र र इशानबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। स्कट कुगेलेइन ७, आरिफ शेख ४ र थारिन्दु रत्नायके १ रनमा आउट हुँदा अनिल खरेल २ रनमा अविजित रहे।
लुम्बिनीका बलरहरूले कसिलो प्रदर्शन गरे। रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १४ रन र शेर मल्लले ४ ओभरमा २७ रन खर्चेर समान २-२ विकेट लिए।
यस्तै, अभिषेश गौतमले ४ ओभरमा मात्र ११ रन दिएर १ विकेट तथा किशोर महतोले ४ ओभरमा १९ रन खर्चेर १ विकेट हात पारे।
लुम्बिनीले २ विकेट रनआउटमार्फत प्राप्त गर्यो। विकेटकिपर निरोशन डिक्वेलाले २ क्याच र २ रनआउटमा सहभागिता जनाए।
लुम्बिनीले केही बेरमा १०६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थाल्नेछ।
मंसिर १, २०८३ मंगलबार १८:४७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।