खेलाडीका रूपमा अब आइपिएलमा देखिने छैनन् महेन्द्र सिंह धोनी

खेलाडीका रूपमा अब आइपिएलमा देखिने छैनन् महेन्द्र सिंह धोनी

काठमाडौं : खेलाडीका रूपमा महेन्द्र सिंह धोनीको इन्डियन प्रिमियर लिग (आइपिएल) यात्रा समाप्त भएको छ। आइपिएल २०२७ को रिटेन्सन डेका दिन चेन्नई सुपर किङ्स (सिएसके)ले ४५ वर्षीय धोनीको संन्यास घोषणा गर्दै उनलाई टिम मेन्टरको जिम्मेवारी दिएको छ। 

आगामी आइपिएल २०२७ बाटै उनी यो नयाँ भूमिकामा यात्रा  सुरु गर्नेछन्। चेन्नई सुपर किङ्सको कोचिङ स्टाफमा परिवर्तन गरिएसँगै नवनियुक्त मुख्य प्रशिक्षक जहिर खानले रिटेन्सनका विषयमा धोनीसँग भेटवार्ता गर्ने चर्चा थियो। दुवैबीच भएको भेटवार्तापछि यस्तो निर्णय लिइएको हो। 

धोनीले आइपिएल २०२५ मा अन्तिम पटक खेल खेलेका थिए भने सन् २०२६ को सिजनमा चोटका कारण उनले खेल्न सकेका थिएनन्। धोनीको संन्यास र नयाँ भूमिकाबारे प्रतिक्रिया दिँदै चेन्नई सुपर किङ्सका मालिक एन श्रीनिवासनले धोनी सधैँ फ्रेन्चाइजीको पहिचानको हिस्सा रहिरहने बताएका छन्।

"एमएस धोनीबिना सिएसके, सिएसके होइन। करिब दुई दशकदेखि हामी जित, कठिनाइ र यसबीचका हरेक परिस्थितिमा सँगै हिँडेका छौं र अगाडि बढेका छौं," श्रीनिवासनले भने, "हाम्रो सम्बन्ध यति बलियो हुनुको एउटा कारण छ- हामी नियत (इन्टेन्ट) माथि प्रश्न उठाउँदैनौं। यही विश्वासले यो यात्रालाई सम्भव बनाएको हो।"

उनले अगाडि थपे, "सन् २००८ मा मैले धोनी सिएसकेको हिस्सा हुनुपर्छ भनेर जोड दिएको थिएँ... पछि त्यो मेरो सबैभन्दा उत्तम निर्णय साबित भयो। फ्रेन्चाइजीका लागि उनले दिलाएका सबै सफलताका कारण मात्र होइन, बरु उनी जस्तो किसिमको व्यक्ति हुन्, त्यसका कारण पनि। धोनी सधैँ हाम्रो पहिचानको हिस्सा रहिरहनेछन्। यो सधैँ उनको घर रहनेछ।"

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भए पनि वर्षौंसम्म आइपिएलमा सक्रिय रहेका धोनीले लिगका कुल १८ सिजनमा सहभागिता जनाएका थिए, जसमध्ये १७ सिजन उनले खेले।

धोनीलाई उनका रन, अर्धशतक वा शतकको कारणभन्दा पनि धेरै उनको कप्तानी, फिनिसिङ र विकेटकिपिङ चिनिन्छन्। टिमलाई ब्याटिङमार्फत जित आवश्यक परेका बेला तुफानी शैलीमा छक्का प्रहार गरी खेल जिताउन उनी प्रसिद्ध थिए। 

त्यस्तै, मैदानमा टिम अप्ठ्यारोमा परेका बेला स्टम्पपछाडिबाटै खेलको नतिजा पल्टाउने खुबीका लागि उनी चिनिन्थे। कुन बलरलाई कहिले प्रयोग गर्ने, मैदानमा कसलाई कहाँ राख्ने र कुन ब्याट्सम्यानका लागि कस्तो रणनीति बनाउने भन्नेमा उनले लिएका निर्णयले नतिजा पल्टाउने गर्थे।

मंसिर १, २०८३ मंगलबार १७:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।