अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

अमेरिकी प्रतिबन्धपछि एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

एजेन्सी : अमेरिकाले कृत्रिम बौद्धिकता (एआई) चिप्स निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ।

चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत एआई चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएको हो।

सिङ्गापुरका सम्बन्धित मन्त्रालयहरूले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको तथा प्रभावित कम्पनीहरूसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीहरूसँग पनि परामर्श भइरहेको जनाएका छन्।

नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा अमेरिकी हतियार प्रतिबन्ध लागेका मुलुकमा मुख्यालय रहेका कम्पनीलाई विश्वका कुनै पनि डाटा सेन्टरबाट उन्नत चिप्समा आधारित ठूलो कम्प्युटिङ क्षमता उपलब्ध गराउन अमेरिकी अनुमति आवश्यक पर्नेछ।

यसअघि चिनियाँ कम्पनीले दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट प्रतिबन्धित अमेरिकी हार्डवेयरमा आधारित कम्प्युटिङ क्षमता भाडामा लिन सक्थे। अब सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र ब्राजिलमा उन्नत चिप्स पठाउनसमेत अमेरिकी इजाजतपत्र आवश्यक हुनेछ।

सिङ्गापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी ‘मेगास्पिड’ ले अमेरिकी निर्यात नियन्त्रण छल्न चिनियाँ कम्पनीलाई सहयोग गरेको आशङ्काबीच यो नयाँ प्रतिबन्ध आएको हो।

यस विवादमा चिप निर्माता ‘एनभिडिया’ का प्रमुख जेन्सेन हुआङको नामसमेत जोडिएको छ। यता मेगास्पिडले भने एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको जनाएको छ।

सिङ्गापुर सरकारले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई गम्भीरतापूर्वक लिने उल्लेख गर्दै अन्य देशका कानुन छल्न आफ्नो भूमि प्रयोग गर्ने कम्पनीलाई छुट नदिने स्पष्ट पारेको छ।

साथै, वैध कम्पनीका लागि उन्नत सेमिकन्डक्टर र कम्प्युटिङ प्रविधिमा पहुँच कायम राख्दै कानुन उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने जनाएको छ।

मंसिर १, २०८३ मंगलबार १२:०६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।