चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे, गर्भवतीमा जटिलताको उच्च जोखिम
काठमाडौं : चिसो बढेसँगै राजधानीका प्रमुख अस्पतालहरूमा मौसमी ‘फ्लु’ (इन्फ्लुएन्जा) संक्रमित बिरामीको चाप बढ्न थालेको छ।
विशेषगरी गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा संक्रमण र स्वास्थ्य जटिलताको जोखिम उच्च देखिएको चिकित्सकहरूले बताएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक एवं स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी विगतका वर्षहरूमा जस्तै जाडो सुरु भएसँगै मौसमी फ्लुको लक्षण लिएर ओपीडीमा आउने गर्भवतीको संख्या बढ्न थालेको बताउँछन्।
सोही अस्पतालका फिजिसियन डा. सुनिल आचार्यका अनुसार दशैंअघि अस्पतालको ओपीडीमा आएका सय जना गर्भवतीमध्ये करिब ५० प्रतिशतमा ज्वरो तथा रुघाखोकीजस्ता मौसमी फ्लुका लक्षण देखिएको थियो।
उता वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले पनि दशैंअघिदेखि नै मौसमी फ्लुको समस्या लिएर ओपीडी पुग्ने बिरामीको चाप बढिरहेको जानकारी दिए।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन विगतमा झैँ यो वर्ष पनि समुदायस्तरमै फ्लु फैलने जोखिम सुरु भएको बताउँछन्।
‘अस्पतालमा फ्लु संक्रमित देखिन थालिसकेका छन्। बिरामीहरूले घरपरिवार तथा छरछिमेकमा पनि रुघाखोकीका बिरामी रहेको बताउने गरेका छन्’, डा. पुनले भने।
गर्भवती, बालबालिका र दीर्घरोगीमा उच्च जोखिम
सामान्य अवस्थाको तुलनामा गर्भवती महिलामा फ्लुको जोखिम बढी हुन्छ। गर्भावस्थामा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले संक्रमण छिटो सर्ने र स्वास्थ्य जटिलता निम्तन सक्ने हुँदा विशेष सजगता अपनाउनुपर्ने डा. अधिकारीको सुझाव छ।
फिजिसियन डा. आचार्यका अनुसार रुघा लाग्ने, सुक्खा खोकी लाग्ने, स्वर बस्ने तथा भासिने, ज्वरो आउने अनि घाँटी, शरीर र टाउको दुख्नेजस्ता लक्षण लिएर ओपीडीमा आउने गर्भवतीको चाप बाक्लो छ।
‘मौसमी फ्लुका कारण निमोनियासमेत भएर कतिपय गर्भवती आईसीयूमा भर्ना भइरहेका छन्,’ उनले भने, ‘कतिपयमा टाइफाइड र डेंगीसमेत देखिएको छ।’
सामान्यतया एक हप्तामा निको हुने मौसमी फ्लुको लक्षण यो जाडोमा तीन हप्तासम्म लम्बिएर बिरामीले दुःख पाउने गरेको डा. आचार्यले बताए। त्यसैले चिसो र धुलो-धुवाँबाट बच्न, भीडभाडमा नहिँड्न र बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न उनको सुझाव छ।
यस्तै, फ्लुका कारण गर्भवतीमा समयअगावै सुत्केरी हुने तथा आमा र शिशु दुवैको स्वास्थ्यमा जटिलता निम्तन सक्ने भएकाले संक्रमणबाट जोगिन डा. अधिकारी र डा. आचार्य दुवैले आग्रह गरेका छन्।
जाडोमा बालबालिकामा समेत फ्लुको संक्रमण बढ्ने भएकाले उनीहरूलाई न्यानोमा राख्न र संक्रमणबाट जोगाउन कान्ति बाल अस्पतालका निर्देशक एवं बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले सुझाव दिए।
यस्तै, वीर अस्पतालका डा. श्रेष्ठले जाडोसँगै वायु प्रदूषण पनि बढ्ने हुँदा पाँच वर्षमुनिका बालबालिका, गर्भवती, पाको उमेरका व्यक्ति तथा दम, मुटु, मिर्गौला र बाथजस्ता दीर्घरोग भएका व्यक्तिलाई बढी सतर्क रहन आग्रह गरे।
के हो मौसमी फ्लु ? ज्यानसमेत जानसक्ने खतरा
मौसमी इन्फ्लुएन्जा एक प्रकारको भाइरल संक्रमण हो, जसलाई सामान्य भाषामा ‘फ्लु’ भनिन्छ। चिकित्सकहरूका अनुसार नेपालमा सामान्यतया जाडोको सुरुवात तथा अन्त्य र मनसुनको समयमा फ्लु संक्रमण बढी देखिन्छ। तर, भौगोलिक विविधताका कारण अन्य मौसममा समेत यसको संक्रमण देखिने गरेको छ।
डा. पुनका अनुसार इन्फ्लुएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन्। तीमध्ये ‘डी’ सामान्यतया जनावरमा देखिन्छ भने ‘ए’, ‘बी’ र ‘सी’ मानिसमा देखिँदै आएको छ। ‘सी’ ले कडा रूप नलिए पनि ‘ए’ र ‘बी’ ले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छन्। त्यसमा पनि ‘बी’ को तुलनामा ‘ए’ बढी देखिने गरेको छ।
इन्फ्लुएन्जा ‘ए’ अन्तर्गत स्वाइन फ्लु (एच१एन१ पीडिएम-०९), हङकङ फ्लु (एच३एन२) र बर्ड फ्लुलगायत पर्छन्।
नेपालमा पछिल्ला वर्षहरूमा स्वाइन फ्लु र हङकङ फ्लुका बिरामी टेकु अस्पतालमा पुग्ने गरेका छन्। समयमै उपचार नभए इन्फ्लुएन्जाका कारण निमोनिया भई जटिलता निम्तिने र बिरामीको ज्यानसमेत जान सक्नेतर्फ डा. पुन सजग गराउँछन्।
लक्षण देखिनासाथ हेलचेक्र्याइँ नगरौँ
स्वाइन फ्लु र हङकङ फ्लुका लक्षण उस्तै हुने भएकाले स्वास्थ्य परीक्षणपछि मात्र कुन प्रकारको फ्लु हो भन्ने यकिन गर्न सकिन्छ। डा. पुनका अनुसार यस्ता फ्लु संक्रमण हुँदा १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउन सक्छ।
यसबाहेक सुक्खा खोकी लाग्ने, टाउको, शरीर, छाती तथा आँखाको गेडी दुख्ने, नाक बन्द हुने, घाँटी दुख्ने तथा स्वर बस्ने र रुघाखोकी लाग्नेजस्ता लक्षण देखिन्छन्। कतिपयमा, विशेषगरी बालबालिकामा बान्ता हुने तथा झाडापखाला लाग्ने लक्षणसमेत देखिने गर्छ।
समयमै ध्यान नदिए स्वाइन फ्लु र हङकङ फ्लुले मिर्गौला र कलेजो लगायतका अङ्गमा असर पुर्याउन सक्छ। डा. पुनका अनुसार निमोनिया बिग्रिएर श्वासप्रश्वासमा समस्या हुने र शरीरका विभिन्न अङ्गले काम गर्न छाड्ने (मल्टी अर्गान फेलियर) अवस्था आई बिरामीको मृत्युसमेत हुन सक्छ।
कसरी सर्छ संक्रमण?
सुरुमा सुँगुरबाट मानिसमा सरेको भनिएको स्वाइन फ्लु पछि मानिसबाट मानिसमा सर्न थालेको हो।
डा. पुनका अनुसार फ्लु हावाको माध्यमबाट तीव्र गतिमा फैलन्छ। संक्रमित व्यक्तिसँग नजिक रहेर आमनेसामने कुराकानी गर्दा, खोक्दा वा हाछ्युँ गर्दा भाइरस हावामा फैलिएर अरूलाई सर्छ।
यसैगरी संक्रमितले छोएका ढोकाको ह्यान्डल, रेलिङ, टिभीको रिमोट, कम्प्युटरको किबोर्ड, भाँडाकुँडाजस्ता सतह वा सामान छुँदा र त्यही हात नाक, मुख वा आँखामा लगाउँदा पनि संक्रमण सर्ने उच्च जोखिम हुन्छ।
सार्वजनिक सवारीसाधन र भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन र मास्क लगाउन चिकित्सकहरूको सुझाव छ।
रोकथामका लागि खोप कति प्रभावकारी ?
मौसमी इन्फ्लुएन्जाबाट बच्न फ्लुविरुद्धको खोप लगाउन सकिन्छ। खोप लगाएमा संक्रमणको जोखिमबाट ५० प्रतिशतभन्दा बढी बच्न सकिने चिकित्सकहरू बताउँछन्।
प्रसूति रोग विशेषज्ञ डा. अधिकारीका अनुसार तीन महिना नाघेका गर्भवतीले चिकित्सकको सल्लाहमा फ्लुविरुद्धको खोप लगाउनु लाभदायक हुन्छ, जसले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्छ। खोपले शरीरमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले संक्रमण भइहाले पनि गम्भीर जटिलताबाट जोगाउँछ।
सामान्यतया ६ महिनाभन्दा माथिका व्यक्ति, गर्भवती, दम, क्यान्सर तथा अन्य दीर्घरोग भएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले वर्षमा एक पटक यो खोप लगाउन सक्छन्।
नेपालमा फ्लुविरुद्धको खोप सहज उपलब्ध रहेको र यसप्रति जनचेतना पनि बढिरहेको डा. पुनले बताए। विशेषगरी पाको उमेरका व्यक्ति र दीर्घरोगीले निमोनियाविरुद्धको खोपसमेत लगाउन सक्छन्।
बच्ने उपाय र उपचार विधि
फ्लुको संक्रमणबाट जोगिन संक्रमित व्यक्तिबाट टाढा रहन, भीडभाडमा नजान र संक्रमितले प्रयोग गरेका सामग्री नछुन चिकित्सकको आग्रह छ। पटक-पटक नाक, मुख र आँखामा हात नलगाउन तथा साबुनपानीले राम्रोसँग हात धुन सल्लाह दिइएको छ।
संक्रमण भइहालेमा गेडागुडी, झोलिलो पदार्थ, प्रशस्त पानी र पौष्टिक तत्त्वयुक्त खानेकुरा खानुका साथै पर्याप्त आराम गर्न र चिसोबाट जोगिन चिकित्सकले सुझाव दिएका छन्।
डा. पुनका अनुसार चिकित्सकको परामर्शमा मात्र औषधि सेवन गर्नुपर्छ। फ्लुविरुद्धको विशेष औषधि नभएकाले सामान्यतया लक्षणका आधारमा उपचार गरिन्छ।
तर, संक्रमण कडा भएर जोखिमको चरणमा पुगिसकेका संक्रमितहरूमा भाइरसको वृद्धि रोक्न ‘ओसेल्टामिभिर’ नामक एन्टिभाइरल औषधि प्रयोग गरिन्छ।
मंसिर १, २०८३ मंगलबार १०:१६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।